सत्ता समीकरणको असर प्रदेशसम्मै

431
views

काठमाडौं, १४, फागुन १४ । सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापित गरेपछि नेपाली राजनीति संघीय सरकारको नयाँ नेतृत्वका लागि सत्ता समीकरणमा केन्द्रित छ ।

संसद् विघटनकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरेर नयाँ सत्ताका लागि समीकरणमा जुटेको नेकपाको दाहाल–नेपाल समूह संघ हुँदै प्रदेश सरकारकै नेतृत्व फेरबललाई केन्द्रमा राखेर अगाडि बढ्ने रणनीतिमा लागेको छ ।

सुरुमा ओलीको सत्ताच्यूतका लागि समीकरण थालेको यो समूह वर्तमान सरकार परिवर्तन गर्ने र यही समीकरणका आधारमा प्रदेश सरकारको नेतृत्वसमेत फेरबदल गर्ने रणनीतिमा छ ।

केपी ओलीप्रति क्रुद्ध यो समूहले संघदेखि प्रदेश सरकारसम्म उनको वर्चश्व तोड्नेगरी सत्ता समीकरणको अभ्यास थालनी गरेको छ। नेता युवराज ज्ञवालीका अनुसार केपी ओलीबाहेकका शक्तिसँग समीकरण गरेर नयाँ सत्ता सञ्चालनको अभ्यास थालनी हुनेछ। ‘केपी ओलीबाहेक लोकतन्त्रवादी सबै शक्तिसँग मिलेर केन्द्रको सत्ता समीकरण बन्नेछ,’ उनले भने, ‘यही समीकरणका आधारमा प्रदेश सरकारमा पनि केपी समूहलाई बर्खास्त गरिनेछ ।’

तर अहिले संघीय सरकारको नेतृत्वका विषयमा समीकरणको प्रयास थालनी भएको र प्रदेश सरकारका विषयमा नेकपाको यो समूहले हात हालिनसकेको ज्ञवाली बताउँछन् । ‘प्रदेश १ र बाग्मतीमा त यो प्रक्रिया सुरु भइसकेको पनि छ,’ उनले भने, ‘यी दुईबाहेक केपी ओली समूहले नेतृत्व गरेका अन्य प्रदेशको हकमा भने अहिले तत्काल हात हालिएको छैन, तर संघीय सरकारका लागि बन्ने समीकरणले ती प्रदेश सरकारमा हामी प्रवेश गर्नेछौँ ।’

ओली समूहलाई निस्तेज पार्ने बलियो अस्त्रका रूपमा रहेको नेपाली कांग्रेसलाई यो समूहले आफ्नो सत्ता सहयात्रीका रूपमा हेरेको छ । फलतः कांग्रेस सभापतिसँग बुधबार नै छलफल समेत गरिसकेको छ । नागरिक दैनिकबाट