काठमाडौं, १७, चैत्र । सत्तारूढ दल एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल र रावललाई पार्टी सदस्यताबाटै ६ महिना निलम्बन गरेका हुन् ।
‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने’, अध्यक्ष ओलीले सोमबार पठाएको पाँचबुँदे निलम्बनसम्बन्धी पत्रमा लेखिएको छ ।
यो मौकालाई कमजोरी ठानी पार्टीविरोधी गतिविधि कायमै राखे निलम्बनको अवधिमै थप कारबाही गर्न सकिने पनि पत्रमा उल्लेख गरिएको छ ।
निलम्बनपत्रमा पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दसौं महाधिवेशन आयोजक कमिटी सदस्य, पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) हाललाई ६ महिनाको लागि निलम्बन गरिएको भनिएको छ ।’
चैत्र ८ मा माधवकुमार नेपाल, भिम रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो ।











