पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा ताला

507
views

नवलपरासी, २१, बैशाख । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा स्थानीयले ताला लगाएका छन् । नगरपालिकाले कोभिड १९ को व्यवस्थापनमा राम्रो भूमिका नखेलेको भन्दै स्थानीयले तालवन्दी गरेका हुन् ।

देवचुली नगरपालिकाका स्थानीय बासिन्दा र राजनीतिक दलका अगुवाहरुले तालावन्दी गरेसँगै उनीहरुले चढ्दै आएको सरकारी गाडी समेत चापी खोसेर राखिदिएका छन् ।

सोमबार देवचुली १३ का ६८ बर्षीय पुरुषको कोरोना संक्रमितलाई अस्पतालमा लैजानका लागि एम्बुलेन्स व्यवस्थापनमा ढिलाई भएपछि स्थानीय आक्रोशित भएका हुन् ।

एम्बुलेन्स र अन्य साधन नपाएपछि संक्रमितलाई स्थानीयले ट्याक्टरमा राखेर लगेका थिए । ट्याक्टरमा लैजादा ढिलो भएपछि उनको बाटोमा नै निधन भएको थियो ।

नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत ३ जनाकै कार्यकक्षमा तालाबन्दी गरिए पनि स्वास्थ्य सेवामा प्रभाव पर्न सक्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलको कार्यकक्षको ताला खोलिएको स्थानीय अगुवा श्याम शर्मा भुसालले बताए ।

उनीहरुले कोभिड १९ को व्यवस्थापनमा स्थानीय सरकारको भूमिका प्रभावकारी बनाउनु पर्ने, विरामी बोक्नका लागि एम्बुलेन्स २४ सैं घण्टा तयारी अवस्थामा राख्नुपर्ने, एम्बुलेन्स व्यवस्थापन नभए नगरपालिकाको सरकारी गाडीमा भएपनि संक्रमितलाई बोक्नुपर्ने लगायतका मागहरु राखेका छन् ।