काठमाडौं, २४, वैशाख । मालदिभ्सको राजधानी मालेमा भएको विष्फोटमा परी पूर्वराष्ट्रपति मोहम्मद नाशिद घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको उपचार भइरहेको मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् जानकारी दिएको छ ।
राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर विष्फोट भएको थियो । उनी कारमा चढ्न लाग्दा विष्फोट भएको बताइएको छ ।
उनको घर बाहिर पार्किङ गरेर राखिएका मोटरसाइकलमा विष्फोटक पदार्थ राखेर विष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ ।
५३ वर्षीय नाशिद उपचाररत अस्पतालले उनलाई धेरै ठाउँमा चोट लागेको र स्वास्थ्य अवस्था स्थीर रहेको जनाएको छ ।
मालदिभ्सका बहालवाला राष्ट्रपतिले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । विष्फोट उनैलाई लक्षित थियो कि थिएन भनेर आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । यद्यपि सत्तारुढ पार्टीका एक सांसदले उनलाई लक्षित गरेर बम विष्फोट गराइएको दाबी गरेको बीबीसीले जनाएको छ ।
नाशिद उपचाररत अस्पताल बाहिर उनका समर्थकहरुको भिड लागेको छ । विष्फोटपछि स्थिति तनावपूर्ण बनेकाले दंगा प्रहरीको तैनाथी बढाइएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।