काठमाण्डौं । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट यही असार २१ गते सोमवारदेखि विद्युत् उत्पादन हुने भएको छ । ७६÷७६ मेगावाटका ६ युनिट रहेको आयोजनाबाट आउँदो सोमवारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय भएको छ । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन पनि गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि ७६ किलोमिटर लामो खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ ।
१० वर्षअघि सुरु भएको आयोजना पटक–पटक सम्पन्न हुने मिति तोकिए पनि सम्पन्न भएको थिएन । झन्डै ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो तामाकोशीको लागत बढेर ८० अर्बभन्दा धेरै पुगेको छ ।
भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङ मार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रूपमा विश्वभर फैलिएको कोभिड–१९ सङ्क्रमण लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा झन्डै एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङ मार्गसहित २९ किलोमिटर सडक र सत वटा पक्की पुल बनाएको छ । स्रोतः उज्यालो अनलाईनबाट