दशबुँदे सहमति कार्यान्वयन गर्ने एमालेको निर्णय, अवसरवादीहरू ओलीतिर गएको खनालको टिप्पणी

754
views

काठमाडौं, ८, भदौ । नेकपा एमालेको स्थायी समितिको बैठकले एमालेकै मध्यमार्गी समुहले राखेको १० बुँदे सहमतिको कार्यान्वयन गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

स्थायी समितिको बैठकले एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील गराउने निर्णय समेत गरेको छ । बैठकपछि सचिव प्रदीपकुमार ज्ञवालीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल समेत बनाइएको जानकारी दिए ।

उक्त बैठकले १०–१२ मंसिरमा दशौं महाधिवेशन गर्ने, ४–६ असोजमा विधान महाधिवेशन गर्ने, एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाउने र सदस्यता नवीकरण असोज मसान्तभित्र गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ ।

अवसरवादीहरू ओलीतिर गए–खनाल

यसैबीच आज निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेको मध्यमार्गी धारमा रहेका नेताहरूलाई अवसरवादीको संज्ञा दिएका छन् । काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को बैठकलाई मंगलबार भर्चुअल रूपमा सम्बोधन गरेका वरिष्ठ नेता खनालले उनीहरू लामो समय टिक्न नसक्ने दाबी गरेका छन् ।

भारतको नयाँ दिल्लीमा उपचाररत खनालले ‘मध्यपन्थ भनेको पनि अवसरवादको एउटा रूप हो । त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ,’ एमालेको तेस्रो धारका नेताहरुलाई लक्षित गर्दै उनले भने, ‘मध्यपन्थको आयु कहिल्यै पनि लामो हुँदैन । यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ, दक्षिणपन्थी अवसरवादमाथि दरिलो हमला गर्न जरुरी छ ।’

नेता खनालले आफूहरूसँग सशक्त वैचारिक क्रान्तिकारी शक्ति निर्माण गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै उनले त्यो शक्तिले ठुलो परिवर्तनको महसुस गर्न सकिने बताए ।

नयाँ पार्टी निर्माणका लागि विद्रोह गरेको भन्दै खनालले पार्टीलाई अनुशासित, एक ढिक्का र सामूहिक ढंगले अगाडि बढाउनुपर्ने बताए । त्यस्तै उनले नयाँ क्रान्तिकारी पार्टी अघि बढाउन ठूलो चुनौती भए पनि त्यतिकै सम्भावना पनि रहेको बताए । ‘हामीसामु ठूलो चुनौती छ तर तर सम्भावना पनि छ । हाम्रो सफलता सुनिश्चित छ । बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन् । हामी भीर पाखामै हुर्केका हौ, त्यसैले हामी सफल हुन्छौं,’ नेता खनालको भनाइ छ ।