काबुल विमानस्थल विस्फोटमा ज्यान गुमाउनेको संख्या १७० पुग्यो

835
views

काठमाण्डौ, १२, भदौ । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा बेलायतका नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ । बेलायतले काबुल विमानस्थल बाहिर भएको हमलामा आफ्ना दुई जना नागरिकको ज्यान गएको बताएको बीबीसीले जनाएको छ ।

दुई जना बेलायती नागरिकसहित यो घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १ सय ७० पुगेको बीबीसीले जनाएको छ । घटनामा डेढ सयभन्दा धेरै घाइते भएका छन् । बिहीवार राति भएको आत्मघाती बम विस्फोटको जिम्मा आतङ्कवादी सङ्गठन आईएसले लिएको छ ।

यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताउनु भएको छ ।

उहाँले आफ्नो मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने बताउनु भएको छ । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरूलाई कारबाही समेत हुने दाबी गर्नु भएको छ । बम विस्फोटपछि पनि देश छाड्न चाहने हजारौँ मानिस विमानस्थल बाहिर जम्मा भएका छन् ।

विमानस्थल बाहिरको क्षेत्र तालिबानले नियन्त्रण लिएर सुरक्षा दिने प्रयास गरिरहेको खबरमा उल्लेख छ ।