काठमाण्डौ, १४, भदौ । नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली आज काठमाडौं आइपुगेको छ । २५ सदस्यीय भारतीय टोली पौने ४ बजे काठमाण्डौ आइपुगेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।
नेपालसँगको खेलको लागि भारतले सुनिल क्षेत्रीसहितको २५ सदस्यीय टोली घोषणा गरिसकेको छ । नेपाली टोलीले पनि पोखरामा अभ्यास गरिरहेको छ ।
नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएकोमा भारतले १३ खेलमा जित हासिल गरेको छ । नेपाल दुई खेलमा विजयी भएको छ । चार खेलमा बराबरी भएको छ ।