आजदेखि नयाँ नोट साट्न पाइने

438
views

काठमाडौं, ४, असोज । दशैँलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

केन्द्रीय बैंकले १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।