१० बुँदे सहमति कार्यान्वयन नभए एमाले फेरि फुट्छ–डा. भीम रावल

818
views

काठमाडौं, १३, असोज । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति अक्षरश कार्यान्वयन नभए पार्टी फेरि संकटग्रस्त हुने चेतावनी दिएका छन् । आसन्न विधान महाधिवेशनमा १० बुँदे अनुसार नै प्रतिनिधित्व हुनुपर्नेमा डा. रावलको भनाई छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता डा. रावलले भने, “१० बुँदे सहमतिको अक्षरशः कार्यान्वयन गर्नुपर्छ । विधान महाधिवेशनमा पनि त्यसै अनुसार प्रतिनिधित्व हुनुपर्छ । सुदूरपश्चिम प्रदेश होस् कि अन्य कुनैपनि ठाउँका नेता कार्यकर्तामाथि कुनैपनि अन्याय हुनुहुन्न ।”

फेरि पनि एमालेमा भएका सहमति कार्यान्वयन नगर्ने, यो गुट वा त्यो गुट भन्ने, पार्टी एकता बँचाएको हिसाबकिताब नगर्ने हो भने पार्टी फेरि संकटग्रस्त हुने उनको भनाइ छ । उनले थपे, “सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने १० बुँदे सहमतिमै स्पष्ट भएको कुरा हो । हामीले नीति, निर्णय, विधि, पद्धति र प्रणालीमा जोड दिएका छौं । पहिले म सुदूरपश्चिम प्रदेश समन्वय कमिटीको संयोजक थिएँ, एकीकरणपछि इन्चार्ज भएँ । २०७५ जेठ २ अगाडि जाने हो भने यसमा कुनै समस्या नै आउँदैन ।

नेता डा. रावलले अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव र दलाली गरी देशको स्वाभिमान कसैको पाउमा चढाउने प्रवृत्तिबाट आफू आश्चर्यचकित भएको पनि बताए । उनले भने, “मलाई आश्चर्य लाग्छ, दुःख पनि लाग्छ । एमसीसीमा अमेरिका भन्दा अगाडि बढेर भक्तिभाव देखाउने क्रमले हामीले महाकाली सन्धिभन्दा ठूलो दुर्दशा भोग्नुपर्ने हुनसक्छ ।”