पर्वत अस्पताल गण्डकी प्रदेशमै ’उत्कृष्ट’

716
views

सुवास पौडेल
पर्वत, १५, असोज । पर्वत अस्पताल मूल्याङ्कनमा ७४.९४ अंक प्राप्त गरी यस वर्ष गण्डकी प्रदेशको उत्कृष्ट अस्पताल हुन सफल भएको छ । प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा जिल्ला अस्पताल पर्वतले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालल सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले गत वर्ष र यस वर्षको प्रगतीले सबैलाई हर्षित बनाएको भन्दै यसलाई कायम राख्नु र थप प्रगति गर्नु अस्पतालको लागि चुनौती थपिएको बताउनुभयो ।

पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, स्रोतसाधन जुटाउन गरेको मिहेनत, विभिन्न सङघसंस्थाको सहयोग तथा अस्पतालका कर्मचारीको अथक प्रयासले मात्रै अस्पतालको सेवा सुविधामा सुधार भएको र उल्लेख्य नतिजा हासिल गरेको बताउनुभयो । ‘‘यो सफलता पाउनको लागि सरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारीलगायत सबैको अमूल्य पसिना परेको छ,’ उहाँले भन्नुभयो ।

जिल्ला अस्पताल पर्वतका निमित्त प्रमुख डाक्टर डुन्डीराज पौडेलले गरे सम्भव हुने भन्दै सम्पूर्ण स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयले पर्वत अस्पतालमा भइरहेका शल्यक्रिया सेवा, डिजिटल एक्स–रे सेवा, ल्याब सेवा, मिर्गौलाको डाइलोसिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, सघन उपचार केन्द्र र भेन्टिलेटर सञ्चालन, गरीबका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आयव्यय हिसाब सफ्टवेयर प्रणालीमा लैजानु, विदेशमा रहेका नेपालीसँगको सहकार्यमा आधुनिक उपकरण ल्याउनु, लगायतलाई उल्लेख्य उपलब्धिको रूपमा लिएको हो । गत बर्ष पनि जिल्ला अस्पताल पर्वत प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो ।

पहिले रिफर सेन्टरको रुपमा रहेको अस्पताल अहिले बिरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ । पर्वत अस्पताल १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा स्तरोन्नति गर्न लागिएको छ ।