पर्वत, २, कात्तिक । आज दशैंको टिका जमरा लगाउने अन्तिम दिन कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।
आज बेलुकी अखिल (सबै) बलिपूर्ति नभएसम्म देवीको प्रसादको रुपमा टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादशैं समाप्त हुन्छ ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कात्ति स्नान भने बुधबारदेखि सुरु हुने समितिले जनाएको छ । चन्द्रमासअनुसार कात्तिक महिनाभर तुलसीको विशेष पूजा आराधना गरी आकाशदीप दान समेत गरिन्छ ।