कर्णालीमै भयो हाडजोर्नीको सफल प्रत्यारोपण

452
views

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका विशाला घर भएकी ४० वर्षीय रंगा विक र कालिकोट घर भएकी ६४ वर्षीय दीपा महतराको जोर्नी प्रत्यारोपण गरिएको अस्पतालका प्रवक्ता एवंम् कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर विकास केसीले बताए ।

उनकाअनुसार दुबैजनाको दाहिने खुट्टाको ‘हिप’ जोर्नीको अपरेशनमार्फत प्रत्यारोपण गरिएको हो ।

बाथ रोगका कारण हड्डी खिइएर हुने समस्याको समाधानका लागि यो प्रत्यारोपण गरिएको छ । यसका लागि प्रदेश अस्पतालमा ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’ डाक्टरहरुको टिम रहेको डाक्टर केसीले जानकारी दिए ।

हाडजोर्नीको प्रत्यारोपणका लागि काठमाडौं, बुटवल जानुपर्ने समस्यालाई कर्णालीमै समाधान गर्न सफल भएको अस्पतालका निर्देशक प्रा।डा। डम्बर खड्काले बताए । वुटवलदेखि यता पश्चिम नेपालका विभिन्न शहरहरुमध्ये पहिलो पटक सुर्खेतमा सफल प्रत्यारोपण गरिएको उनको भनाइ छ ।

प्रदेश अस्पतालमै हाडजोर्नीको प्रत्यारोपण गर्न सकिने भएपछि यहाँका नागरिकलाई राहत प्रदान गर्न सकिने खड्का बताउँछन् ।

हाडजोर्नी प्रत्यारोपणका लागि विरामीको अवस्थाअनुसार कम्तिमा पाँचदेखि सात लाख रुपैयाँसम्म खर्च हुनेभएपनि स्वास्थ्य वीमा भएका विरामीका लागि प्रदेश अस्पताल उपकरण खर्च मात्रै लाग्ने अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर केसीका अनुसार सफल प्रत्यारोपण गरिएका ती दुई जना विरामीको दुईदेखि दुई लाख पचास हजारसम्म खर्च भएको छ । उनीहरु दुबैजनाको स्वास्थ्य वीमा भएकोले खर्च कम भएको हो ।

हाडजोर्नी प्रत्यारोपण एक पटक गरिसकेपछि कम्तीमा २५ देखि ४० वर्षसम्म काम गर्ने डाक्टर केसीले जानकारी दिए । प्रदेश अस्पतालमा भौतीक संरचना, अप्रेशन सामाग्री र जनशक्ति समेत भएकोले यस्तो खालको जटिल शल्यक्रिया सम्भव भएको निर्देशक प्रा.डा. खड्काले उल्लेख गरे । कर्णाली प्रदेश अस्पतालले जटिल खालका शल्यक्रिया सुरु गरेदेखी बिरामीको संख्या ह्वात्तै बढेको उनको भनाइ छ । यो सेवालाई निरन्तर दिने भन्दै डा। खड्काले कर्णाली प्रदेश अस्पताललाई हेल्थ टुरिजम्का रुपमा विकास गर्न खोजेको भन्दै कर्णालीमा पहिलो पटक सफल भएको जानकारी दिए ।