पोखरा । नेपालकै शिर्ष वरियताकी सलोनी तामाङ्गले पोखरामा एकैपटक दुई वटा उपाधीमा आफ्नों नाम लेखाएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा उनले उमन्स सिंगल र डबल्स गरि दुई वटा उपाधीमा कब्जा जमाइन् ।
बिहीबार भएको उमन्स सिंगलमा उनले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पार लगाइन् । त्यस्तै उमन्स डबल्सतर्फ सलोनी र माहिका राणा जोडीले सुभाङ्गि लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा निकाल्दै उपाधी रक्षा गर्न सफल भए ।
प्रतियोगितामा मेन्स डबल्सतर्फको उपाधी अक्कि जुवेन रावत र आरब सम्राट हाडाको जोडीले जितेको छ । फाइनल खेलमा सो जोडीले प्ररण खनाल र जितेन्द्र परियारको जाडीलाई ७–६ र ६–१ को सेटमा पन्छ्याउँदै उपाधी जित्न सफल भएको हो ।
३५ वर्ष माथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम स्थान हाँसिल गरे । राजु क्षेत्री र सुदर्शन विष्ट जोडीसंगको अन्तिम भेटमा भण्डारी जोडीले ६–४ र ७–६ को नतिजा निकाल्दै अव्वल हुन सफल भए । ५५ वर्ष माथिको एकलतर्फ कृष्णराज घलेलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै बिमल गुरुङ्गले उपाधी आफ्नों पोल्टामा पारे ।
प्रतियोगितामा ५५ वर्ष माथिको डबल्स स्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी प्रथम हुन सफल भयो । अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित दर्ता गरे । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङ्गलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भए ।
प्रतियोगिताको मुख्य इभेण्ट मेन्स ओपनको टाइटलका लागि पोखरेली खेलाडी प्रदिप खड्का र आरब सम्राट हाडा भिड्ने भएका छन् । शुक्रबार हुने फाइनल भेटका लागि प्रदिपले अकि जुवेन रावतलाई ७–५, ६–२ ले तथा आरबले प्ररण खनाललाई ६–२, ६–४ ले पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । ३५ वर्ष माथिको एकलतर्फ सन्तोष खत्री र भिष्म गुरुङ्गविच उपाधी भिडन्त हुने भएको छ ।
सन्तोषले दावा शेर्पालाई ६–१, ६–१ ले तथा भिष्मले निरज थापालाई रोमाञ्चक खेलमा ३–६, ६–३ र १०–२ ले पराजित गरेका हुन् । ४५ वर्ष माथिको एकलतर्फ बिमल गुरुङ्ग र चन्द्र शाहीविच फाइनल खेल हुने छ । बिमलले विनोद कायस्थलाई ६–०,६–२ ले तथा चन्द्रले उत्तम लामालाई ६–१–६–१ ले पराजित गरे । ४५ वर्ष माथिको डबल्सतर्फ उपाधीका लागि पोखरेली खेलाडी विनोद कायस्थ र विकास गुरुङ्गको जोडीले हिमाल शाह र राजु क्षेत्री जोडीसंग उपाधीका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक नविन चालिसेजे जानकारी दिए ।