गठबन्धनको अन्तिम शक्ति यत्ति हो, नआत्तिनुस् ओली

338
views

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरूका लागि प्रतिकूल आउन सक्ने बताएका छन्।

पार्टीको जिल्लाहरूको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दुरुपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीको लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको बताका हुन्।

उनले राष्ट्रियसभाको निर्वाचन पार्टीका लागि अनुकूल नभए पनि आफ्नो पार्टी मुलुकको पहिलो शक्ति रहेको बताए। अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचनमार्फत् सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको पनि बताए।

त्यो प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले भने, ‘राष्ट्रियसभाको माघ १२ को परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ। किन प्रतिकूल आउन सक्छ। यस्तो अवस्थामा अहिलेको राष्ट्रियसभा निर्वाचन त्यो हिजोको जनप्रतिनिधिहरू त्यहाँबाट निर्वाचित हुने हो। तर, परिणाम त यदि हाम्रो ५१ छ भने हामी जित्थ्यौँ। २ जना मान्छे तलमाथि पारिदिँदा हाम्रो ४९ मा झर्छ।ु

उनले अगाडि थपे, ुम साथीहरूलाई भन्न चाहन्छु–र जनसमूदायलाई पनि स्पष्ट पार्न चाहन्छु–यो आजको जनादेश होइन। नेकपा एमालेलाई संसदीय क्षेत्रमा, संसदीय संघर्षको मैदानमा र तीनै तहको निर्वाचनहरूमा नेकपा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्सा यो हो। नेकपा एमाले फुटाउन तत्वहरूको अन्तिम प्रहार यही हो। यसभन्दा पछि जनतामा जाँदा अव उप्रान्त उनीहरूसँग त्यो हैसियत रहँदैन।ु

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दाबी गरे। उनले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दाबी गर्दै मतदानको माध्यमबाट हटाउन आम जनतालाई अपिल पनि गरे।

उनले संसदबाट नभई अन्यत्रैबाट बनेको सरकारलाई करिब ३ करोड नेपाली जनताले आगामी निर्वाचनमा मतपत्रको माध्यामबाट अन्त्य गर्नुपर्ने बताए। अध्यक्ष ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतिक्षा गरिरहेको भन्दै सोही अनुसार निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष ओलीले नर्सिङ कलेजहरू हटाउने, हरेक ठाउँलाई पार्टीको भर्तीकेन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे।