नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने दुई ब्यक्ति पक्राउ

429
views

पर्वत, १०, फागुन । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने दुई ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरी सार्वजनिक गरेको छ । पोखरामा बसेर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पर्वत जिल्लाको महाशिला गाउँपालिका २ भोक्सिङका रिमबहादुर हमाल र सुर्खेत जिल्लाको चौकुने गाउँपालिका ५ का तुलाराम नाम्जाली मगरलाई पक्राउ गरेको हो ।

हमाललाई नक्कली प्रमाणपत्र तयार गर्ने पसल तथा मगरलाई काठमाण्डौबाट पोखरा आउने क्रममा पोखरा बिमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक शिबराज बुढाथोकीले जानकारी दिए ।

हमाल र मगरले पोखरामा रहेको भुपु सैनिक अनलाईन सेवा नामको पसलबाट बिभिन्न विद्यालय तथा एसइइ परिक्षाका नक्कली प्रमाणपत्रहरु तयार गर्दै आएका थिए । उनीहरुले १ लाख २५ हजार रुपैया लिएर एक सेट एसइइ परिक्षाका प्रमाणपत्रको सेट नै बिक्री गर्दै आएको जिल्ला प्रहरी कार्याल पर्वतका प्रमुख डिएसपी बुढाथोकीले जानकारी दिए ।

प्रहरीले बिभिन्न बिद्यालयको नामका तथा ब्यक्तिका तयारी प्रमाणपत्र तथा प्रमाणपत्र तयार गर्न प्रयोग गरिएका कम्युटर, प्रिन्टर लगायतका प्रमाणपत्र समेत बरामद गरेको छ । यस बाहेक प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय लमजुङको स्टयाम्प प्याड समेत बरामद गरेको छ ।

अभियुक्तहरुले खासगरी भारतीय तथा बेलायती सेनामा भर्ती हुने युवाहरुलाई उमेर घटाएर शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने गरेको समेत पाइएको छ ।