एजेन्सी । दुई पक्षबीच बेलारुसमा झण्डै तीन घण्टा वार्ता भएको रुसी दूतावासले जनाएको छ । तर तेस्रो चरणको वार्ताले पनि अपेक्षित परिणाम ल्याउन नसकेको मस्को र किएभका प्रतिनिधिले स्वीकार गरेका छन् ।
रुसको वार्ता टोलीका प्रमुख राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले वार्तामा राखिएको अपेक्षा पूरा हुन नसकेको बताउनुभयो । युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार मिखाइल पोडोल्याकले पनि कुनै नतिजा नआएको प्रतिक्रिया दिनुभएको छ । दुवै पक्ष छिट्टै वार्तामा जुट्न सहमत भएका छन् । यसअघि गरिएका दुई चरणका वार्तामा पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन ।
युक्रेन छोड्न चाहने नागरिकको उद्धारका लागि मानवीय करिडोर व्यवस्थापनमा तत्काल काम थाल्न रुस सकारात्मक रहेको समाचार संस्था तासले जनाएको छ । रुसले किएभबाट जानेलाई बेलारुसतिर र खार्किभबाट जाने मानिसलाई रुसतिरको बाटो पठाउन खोजेको छ ।
तर युक्रेनले यो प्रस्तावमा असहमति जनाएको छ । रुसले आक्रमण गरेको बाह्रौँ दिनसम्म युक्रेनबाट झण्डै १७ लाख मानिस बाहिरिएका छन् । रुसले युक्रेनका दक्षिणी र पूर्वी सहरमा आक्रमण गरिरहेको छ ।