मतदाता रिझाउन घर-दैलोमा उम्मेदवार

439
views

पर्वत, २१, बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी अभियान तीव्र भइरहेको छ । शहरदेखि गाउँ गाउँसम्म जताततै उम्मेदवारहरू मतदाताको घर-घरमा पुगेका छन् । मतदानको दिन आउन दशदिन मात्र बाँकी छ ।

उम्मेदवारहरु आफ्नो पक्षमा परिणाम पार्न धपेडीमा छन् । अहिले जनताको घरघर पुगेर विकास निर्माणका ठूला ठूला सपना समेत देखाइरहेका छन् । पर्वतमा विभिन्न दलका उम्मेदवारहरू घरदैलो अभियानमा खटिएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा वा स्वतन्त्र उम्मेदवारहरु सबै आ-आफ्नो दलको उम्मेदवार सहित मतदाताको घर-घर पुगेका छन् ।

अघिपछि बाटो पर्दा आँखा तर्ने नेताहरू हात जोड्दै मतदाता रिझाउन लागेका छन् । विहानको झिसमिसेदेखि साँझ र फोनमा समेत उम्मेदवार र उनका समर्थकहरू मतदाता भेट्न घरदैलो, खेतीपाती र फाँटसम्म पुगेका छन् ।

नेताहरुको मात माग्ने धपेडीसँगै मतदाता पनि भोट माग्न आउने उम्मेदवारसँग मुसुक्क मुस्काउँदै हाँसेर स्वागत मात्रै गर्दैनन्, सबैलाई मत दिने भनेर फुरुङ्गै पारिदिएका छन् । कतिपय मतदाताले भने अघिल्लो पाँचबर्षमाथि प्रश्नचिन्ह उठाइदिएका छन् ।

निर्वाचन आयोगले आचारसंहिता पालनामा अघिल्ला वर्षभन्दा कडाई गरेकाले भड्किलो प्रचार शैलीबाट प्रचार प्रसार भने भएको छैन् ।

उम्मेदवार र उनका समर्थकहरू सचेत भई सभ्य तरिकाले प्रचारमा होमिएका छन् । जे होस् भुईं मान्छेसम्म पुगेर मतका लागि अनुनय विनय गरेको देख्दा निर्वाचनले नागरिकलाई कसरी सार्वभौम बनाएको छ भन्ने चित्र प्रचारका क्रममा देख्न पाइन्छ ।