‘माटो जोगाऔं’ अभियानका अभियान्ता पर्वतमा

462
views

पर्वत, ९, साउन । माटो नै नरहे मानिसको अस्तित्व नै नरहने भन्दै ‘माटो जोगाऔं’ अभियानमा लागेका अभियान्ता नविन पुन आज पर्वतमा आईपुगेका छन् । ३५ सय किलो मिटर दौडकासाथ सातवटै प्रदेशमा पुग्ने अभियान थालेका पुनले सोमवार सदरमुकाम कुश्मामा ‘माटो जोगाऔं’ अभियानबारे पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अभियान्ता पुनले प्रकृति संरक्षण गर्ने तर्फको सबैभन्दा महत्वपूर्ण पक्ष माटो भएको र माटोको विनास रोक्न नसके यो धरती र मानिस सहायक नहुने हुँदा माटो जोगाउनु अनिवार्य रहेको बताए ।

पुनले माटोलाई पुन जिवन्त बनाउनका लागि जागरुकता बढाउन, सरकारी नीतिहरु बनाउन सहयोग गर्न भारतीय ६५ ६५ बर्षिय सद्गुरुले एकसय दिनमा विश्वको ३० हजार किलोमिटर यात्रा सुरु गर्न लागेको र सोही अनुरुप आँफु पनि माटो जोगाऔं अभियानमा लागेको बताए ।

माटो नजोगाउने हो भने पद प्रतिष्ठा र पैसाले मानव जीवन नबाँच्ने भन्दै अभियान्ता पुनले जेठ ३० गते काठमाण्डौबाट अभियानको सुरुवात गरेको बताए ।

आज ४३ औं दिन हो दौडेर गरिएको यो अभियान निकै कष्टपूर्ण छ उनले भने ‘दौडका क्रममा गर्मी, चिसो र परिश्रमले शारीरिक रुपमा कष्टकर अभियान भएपनि माटो जोगाऔं अभियान दौडेर सातवटै प्रदेशमा पु¥याउने हो ।’

अभियान सफल बनाउन आर्थिक व्यवस्थापन कसरी र कहाँबाट गर्नुभएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो अभियानमा व्यक्तिगत तथा विभिन्न संघ संस्था तथा नगरपालिकाहरुले स्वेच्छिक रुपमा सहयोग गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै अभियान्ताका सहयोगी सनम लिम्बुले माटो जोगाउनका निमित्त ७४ वटा देशले सरकारी रुपमै नीतिगत रुपमा काम थालिसकेको बताए । माटो जोगाऔं अभियानमा विश्व नै लाग्नुपर्ने आवश्यकता रहेको लिम्बुको भनाई थियो ।

माटो जोगाऔं अभियान अन्र्तगत आज पर्वतमा भएको पत्रकार सम्मेलनको सञ्चालन सञ्चारकर्मी बैकुण्ठ गिरीले गरेका थिए ।