पोखरा, १६, साउन । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर र प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । पोखरा–१६, बाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि.को हीरक जयन्तीमा पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रममो उद्घाटन गर्दै प्रमुख आचार्यले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै पक्षले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए ।
उनले दक्ष जनशक्ति विदेशीने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसगै प्राविधिक ज्ञान, सिप र रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयले भोगेका समस्याप्रति आफू जानकार रहेको बताउदै समस्या समाधानका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले सबै पक्षको सहकार्यबाट विद्यालय उत्कृष्ट बन्न पुगेको बताउदै विद्यालयमा प्राविधिक शिक्षा स्थापना, स्कुल बस तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारीको व्यवस्था गरी दिन स्थानीय सरकारसँग आग्रह गरे ।
कार्यक्रममा अक्षयकोषदाता दुर्गा के.सी. थापा, मेहरमान थापा, भीमबहादुर थापा, प्रकाश अधिकारी÷रमेश अधिकारी, एस.ई.ई. का सवोत्कृष्ट विद्यार्थी सिन्धु लम्साल, आशिक गौतम, उत्कृष्ट विषयगत शिक्षक खेमराज पौडेल, महेन्द्रप्रसाद पौडेल, महेन्दमणि पौडेल, उत्कृष्ट कक्षा मोनिटर कक्षा ९ क की इन्दु लम्साल, उत्कृष्ट अभिभावक अनबहादुर बि.क., रुपा नेपालीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अनिवार्य अवकाश लिनु भएका विद्यालयका सहायक प्रधानाध्यापक जीवनाथ शर्मा पौडेल, शिक्षिका सीता बस्नेत र लेखापाल जीवनारायण श्रेष्ठ ‘जीवन’ लाई सम्मान सहित बिदाइ गरिएको विद्यालयका सूचना अधिकारी रामबहादुर बानियाँले जानकारी दिए ।
सो अवसरमा विद्यालयले शैक्षिक सत्र २०७७÷०७८ को शैक्षिक पुरस्कार तथा छात्रवृत्ति समेत प्रदान गरेको छ । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले विद्यालयले यस शैक्षिक सत्रमा प्राप्त गरेका उपलब्धि तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।