कविता (हाम्रा चाहना)

797
views
–हाम्रा चाहना
हजार माइलको लामो यात्रामा समर्पित यी पाईलाहरु
धर्तिको पल्लो कुनामा पुग्न चालियका यी कदमहरु
नयाँ संसार निर्माणमा जुटेका यी तनहरु
सुनौलो सपना देखेका यी मनहरु
रुक्नु हुदैन ,चुक्नु हुदैन
छुत्नु हुदैन र टुट्नु हुदैन
निरन्तर संगै चलिरहनु पर्दछ
निरन्तर संगै बलिरहनु पर्दछ
निरन्तर संगै बगिरहनुपर्दछ
भन्ने नै हाम्रा चाहना हुन् !
भयङ्कर आंधिहुरिका बीच पनि
हजार अप्ठ्याराहरुका बीच पनि
लाखौ बाढा अड्चनका बीच पनि
करोडौ चुनौतीहरुका बीच पनि
यी पाईलाहरु ,यी कदमहरु
अविरल संगै अघि बढी रहनुपर्दछ
अनन्त संगै चलिरहनु पर्दछ
भन्ने नै हाम्रा चाहना हुन् !
यो यात्रामा
पहराले छेक्न खोजे पनि
पहिरोले रोक्न खोजे पनि
जंगलले दिशा बिहिन बनाउन खोजेपनि
यी पाईलाहरु,यी कदमहरु
यी तनहरु, यी मनहरु
सागर भेट्न हिडेको नदि झैँ
संगै अघि बढी रहनुपर्दछ
भन्ने नै हाम्रा चाहना हुन् !
ज्वारभाटाले धकेल्न खोजेपनि
भुवरीले लुकाउन खोजेपनि
बाघ,भालुले तर्साउन खोजेपनि
बिषालु सर्पले डस्न खोजेपनि
यी पाईलाहरु,यी कदमहरु
निरन्तर संगै चलिरहनु पर्दछ
भन्ने नै हाम्रा चाहना हुन् !
कतै दोबाटामा बाटो फरक परेछ भने
कतै अध्यारामा बाटो हरायछ भने
छलछाम,षड्यन्त्रले होईन
आरोप-पत्यारोपले होईन
गालि- गलौजले होईन
घृणा र रिस रागले होईन
सहयोग,सदभावले
आदर,सम्मान र माया, ममताले
त्याग,तपस्या र बलिदानले
लक्ष प्रतिको स्वच्छ प्रतिवद्धताले
पुन:एकिकृत हुनैपर्दछ
र संगै लक्षमा पुग्नै पर्दछ
भन्ने नै हाम्रो चाहना हुन् !
बिचौलियाहरुले बिचमा बसेर
षड्यन्त्रकारीहरुले षड्यन्त्र गरेर
हामीलाई
नदीको दुई किनार बनाउन सक्छन
घेरा बन्दि गर्न सक्छन
तर हामीले
त्यो षड्यन्त्र चिर्नुपर्दछ
त्यो घेरा तोड्नुपर्दछ
हामी एकाकार हुनुपर्दछ
मुलप्रवाहमा एकसाथ बग्नुपर्दछ
र लक्षमा संगै पुग्नुपर्दछ
भन्ने नै हाम्रा चाहना हुन् !
(बिहान शिवपुरीको जंगल तिर डुल्दै ,कवितामा भुल्दै )