काठमाण्डौ, २०, जेठ । राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन् ।
महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न मंगलबार पाँच जना विज्ञ कर्मचारीको टुंगो लगाएको थियो । निर्वाचन आयोगले आइतबारदेखि दलहरुले बुझाएको लेखा परीक्षण प्रतिवेदनसहितको अन्य कागजात विज्ञहरुले अध्ययन सुरु गर्ने जनाएको छ ।
दलको कागजात अध्ययन र जाँच गर्न आयोग परिसरमै कर्मचारीका लागि कार्यकक्षको व्यवस्थापन गरिएको छ ।
राजनीतिक दललाई आर्थिक रूपमा जवाफदेही बनाउन राजनीतिक दलसम्बन्धी ऐनले दलको कोष,त्यसको सञ्चालन तथा लेखा र लेखा परीक्षण शीर्षकमा गरेको व्यवस्थाभित्र रहेर टोलीले छानबिन गर्ने बताइएको छ ।
राजनीतिक दलले गत माघमा आयोगमा बुझाएको आयव्यय विवरणमा ऐनले गरेको व्यवस्था विपरीतका गतिविधि समेटिएको आशंकामा छानबिन गर्न लागेको हो ।