सुनसरी, १०, असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई विचारहिन र बुढो भईसकेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस पुरातनवादी सोंच र विचारबाट ग्रसित रहेकाले अब एमालेको विकल्प नरहेको दावी गरे । ओलीले काँग्रेसलाई आजका कुरा गर्न नसक्ने र हिजैका कुरामा अल्झिने व्यङग गर्दै कांग्रेसले पार्टीको घोषणा पत्रको कभरमा रेलको फोटो राखेर एमालेको नीतिलाई स्वीकार गरेको टिप्पणि गरे । पूर्व पश्चिम रेलको कुरा गर्दा वालुवाटार अघि खेलौना रेल ल्याएर काँग्रेसले तमासा गरेको ओलीको भनाई थियो ।
नेता ओलीले काँग्रेसको विदेश नीतिको समेत आलोचना गरे । उनले सन्तुलित सम्बन्ध राख्ने भनेपनि एक देशसँग मात्र निर्भर हुने काँग्रेसको नीति रहेको बताए । थारु, मधेस, मुस्लिम, अल्पसंख्यकको सम्बन्धमा एमालेलाई लिएर भ्रम फिजाइएको प्रति कडा टिप्पणी गरेका ओलीले ‘हुलाकी राजमार्ग आफै बनाउन ठेक्का लगाईदिएको एमाले मधेस विरोधी भयो, रु २० हजार घर बनाएर दिने भन्दा एमाले मधेस विरोधी भयो, रु १० वटा आधुनिक शहर बनाउँछु भन्दा एमाले मधेस विरोधी कसरी भयो ? भन्ने प्रश्न समेत गरे । आफ्नै प्रधानमन्त्रीत्व कालमा जोगबनी–किमाथांका सडक विस्तारको योजना बनाएको सुनाउँदै सो सडक बनेपछि धरान र इटहरीको विकास हुने दावी गरे ।