कड्किए बैद्य – ढुंगेल पक्राउ आदेश वृहत शान्ति सम्झौताको उलंघन

1518
views

काठमाडौं । हालै सर्वोच्च अदालतद्वारा पूर्व सभासद बालकृष्ण ढुंगेलको जनयुद्धकालीन मुद्दा ब्युँताएर फैसला समेत गरी सातदिने पक्राउ पुर्जी जारी गरिएकोमा पार्टीको गंभीर ध्यानाकर्षण भएको बताउँदै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ले सम्झौताअनुसार जनयुद्धकालीन मुद्दाहरु राज्यको तर्फबाट तत्काल फिर्ता लिई खारेजी गर्नुपर्ने माग गरेका छन् । जनयुद्धको झण्डै दशवर्ष वितिसक्दा पनि जनयुद्धकालीन फिर्ता लिने काम नभएको र सत्यनिरुपण मेल मिलाप गर्नका लागि भनी दुई ओटा आयोगको कानुनी व्यवस्था गरिएकोमा त्यस अनुसार पनि न गरिएको यथार्थ स्पष्ट रहेको भन्दै यसरी बृहत् शान्ति सम्झौताको गम्भीर उल्लंघन हुँदा पनि त्यसप्रति राज्य मूकदर्शक रहनु र त्यसबारे कुनै पनि पहल नगरिनु दुःखद् विडम्बनाको विषय भएको वैद्यद्वारा शनिबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

जनयुद्धको नेतृत्वको एउटा हिस्सा सरकार प्रमुखमा आसीन भैरहनु र जनयुद्धमा संलग्न भएका कार्यकर्ताहरु यसरी उत्पीडित बन्नु गम्भीर चिन्ताको विषय पनि भएको जनाउँदै वक्तव्यमा भनिएको छ, “तसर्थ, हाम्रो पार्टी बृहत शान्ति सम्झौता अनुरुप जनयुद्धकालीन मुद्दाहरुको अविलम्ब खारेजी र बाँकी रहन गएका जनयुद्धकालीन मुद्दाहरुबारे उक्त आयोगहरु मार्फत् मेलमिलापको व्यवस्था गर्नका लागि नेपाल सरकारसित सशक्त तथा जोडदार माग गर्दछ ।”