राष्ट्रपति विद्यादेवी भण्डारी भारत यात्रामा

1338
views

बैशाख, ४, काठमाडौं /नयाँदिल्लीः राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाने हुनुभएको छ । पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा ३४ सदस्यीय टोलीसहभागी हुनेछ ।

गत वर्ष अन्तिम समयमा केपी ओली सरकारले रद्द गरेको भ्रमण मुखर्जीको नेपालयात्राको करिब ६ महिनापछि सम्पन्न हुन लागेको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी तथा सांसदहरूसहित राष्ट्रपति भण्डारीको भ्रमण टोली सोमबार बिहान ११ बजे नेपाल एयरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ । राष्ट्रपति भण्डारी सोमबार भारत जाँदा र शुक्रबार आउँदा दुवै दिन सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ । यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणबारे भारतीय विदेश मन्त्रालय नयाँदिल्लीमा आयोजित विशेष ‘ब्रिफिङ’ मा नेपाल डेस्क प्रमुख सुधाकर दलेलाले राष्ट्रपति मुखर्जीको निमन्त्रणामा नेपाली राष्ट्रपति ‘विशेष सद्भावना भ्रमण’ मा भारत आउन लागेको बताउनुभयो । ‘पद सम्हालेयता यो नै नेपाली राष्ट्रपतिको पहिलो विदेश यात्रा हो’, उहाँले भन्नुभयो, ‘राष्ट्रपति मुखर्जीले गत नोभेम्बरमा भएको आफ्नो नेपाल भ्रमणमा उहाँलाई चाँडै भारत आउन निमन्त्रणा दिनुभएको थियो।’
भण्डारीको भ्रमणबाट नेपाल र भारतबीचको सदियौँ पुरानो मौलिक साझेदारी तथा जनस्तरको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास भारतीय पक्षले लिएको छ । ‘नेपाल(भारतबीच उच्चस्तरीय राजनीतिक तथा सरकारी अधिकारी तहमा द्विपक्षीय भ्रमण तथा भेटघाट बाक्लिएका बेला यो भ्रमण हुन लागेको छ । ६ महिनायता नेपाल र भारतबीच यो चौथो उच्चस्तरीय भ्रमण हो’, दलेलाले भन्नुभयो ।
राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाँदा र फर्कंदा दुवै दिन सरकारले सार्वजनिक छुट्टी दिने भएको छ ।
राष्ट्रपति मुखर्जीको गत वर्ष भएको नेपाल भ्रमणपछि नेपाल र भारतबीच १३ वटा द्विपक्षीय बैठक र भेटवार्ता भएको बताउँदै सम्बन्धमा बृहत्तर रूपमा सकारात्मक नतिजा आइरहेको उहाँले बताउनुभयो । नेपाल र भारतबीचको व्यापार, लगानी, जलस्रोत, ऊर्जा सहकार्य र सुरक्षा तथा रक्षा, तेल तथा ग्यास आपूर्ति, भूकम्पपछिको पुनर्निर्माण, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धको दायरा अझै प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक कुराकानी फलदायी भइरहेको उहाँको भनाइ थियो ।
कनेक्टिभिटीका प्रोजेक्टहरूमा सीमापार रेलसञ्जाल, हुलाकी राजमार्ग, सीमामा एकीकृत सुरक्षा जाँच चौकी, सीमापार विद्युतीय प्रसारण र तेल पाइपलाइनमा पनि प्रगति भइरहेको उहाँले पत्रकारलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा गठित परियोजना अनुगमन संयुक्त संयन्त्रको बैठक तीनपटक बसिसकेको र उक्त संयन्त्रले द्विपक्षीय परियोजनाको कार्यान्वयनमा आएका चुनौती समाधान गर्न अत्यन्तै सहयोगी बनेको उहाँले बताउनुभयो । नेपालमा बन्ने अरुण ते श्रो परियोजनाका लागि ५८ अर्ब रुपैयाँ (भारु) लगानी गर्नेसम्बन्धी प्रस्ताव अघिल्लो महिना भारत सरकारले अनुमोदन गरेसँगै नेपाल र भारतबीचको ऊर्जा क्षेत्रमा सहकार्य नयाँ उचाइमा पुगेको दलेलाले जानकारी दिनुभयो ।
‘नेपालसँगका विभन्न क्षेत्रमा रहेको भारतको सहकार्यको समीक्षा गर्नका लागि राष्ट्रपतिको भ्रमण महत्ववपूर्ण हुनेछ । सबन्धलाई दुवै देशको हितमा प्रगाढ बनाउन यो भ्रमण महत्ववपूर्ण हुनेछ’, नेपाल डेस्क प्रमुख दलेलाले भन्नुभयो ।
भ्रमण कार्यक्रम
राजकीय भ्रमणको परम्पराअनुसार उहाँलाई भारतीय राष्ट्रपति भवनमा राखिनेछ । भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुषमा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नुहुनेछ ।
मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ ।
मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
भारत नेपालबारे पुरानै अडानमा
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपालको संविधान कार्यान्वयनमा भारतले लिँदै आएको पुरानै अडान दोर्होयाएको छ । भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुखले नेपाली सरकार र दलहरूले नेपालका राजनीतिक पक्ष सबै राजनीतिक पक्षलाई साथमा लिएर नेपालको संविधान कार्यान्वयन प्रक्रिया अघि बढाउनेमा भारत विश्वस्त रहेको बताउनुभयो ।
उहाँले मधेसी दलले गरिरहेको आन्दोलन र संविधान संशोधनबारे सोधिएको प्रश्नमा भन्नुभयो, ‘नेपालको आन्तरिक राजनीतिक मुद्दामा अनुमान गर्न हामीले मिल्दैन तर सबै राजनीतिक पक्षलाई साथमा लिएर संविधान कार्यान्वयनका मुद्दा हल गर्ने नेपालको राजनीतिक नेतृत्वले हाम्रो राजनीतिक नेतृत्वलाई विगतमा बताएको म यहाँ स्मरण गर्न चाहन्छु ।’
भारतले सदैव नेपालको शान्ति, स्थिरता र विकास चाहँदै आएको उहाँले बताउनुभयो । ‘भारत यो विश्वास गर्छ कि सहमति र संवादका माध्यमबाट नेपालको संविधान कार्यान्वयका मुद्दा हल गर्नमा सकारात्मक नतिजा आउनेछ’, उहाँले भन्नुभयो ।
भारत सरकारले संविधान कार्यान्वयनका मुद्दामा सबै पक्षलाई संवाद र सहमतिका माध्यमबाट नेपाल सरकारले गर्ने प्रयासमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो । नेपालमा सबै पक्षको सहभागितामा संबिधान कार्यान्वयनका मुद्दा समावेशी ढंगले ब्यापक सहमतिमा अघि बढोस् भन्ने भारतले चाहेको उहाँको भनाइ थियो ।