भारतले क्षमायाचना नमाग्दा उपप्रधानमन्त्री थापाको आपत्ति

1331
views

महेन्द्रनगर, ४, बैशाख । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले भारतीय पक्षले क्षमायाचना नगरेकोमा आपत्ति जनाउनु भएको छ । गत फागुन २६ मा कञ्चनपुरको पुनर्वासमा भारतीय पक्षले नेपाली भूमिमै आएर गोविन्द गौतमको हत्या गरेको विषयमा अहिलेसम्म भारतीय पक्षले क्षमायाचना नगरेकोमा उपप्रधानमन्त्री थापाले आपत्ति प्रकट गर्नुभएको हो ।
राप्रपा अध्यक्ष समेत रहनु भएका थापाले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन अन्तिम समयसम्म प्रयत्न हुने बताउनुभएको छ । पार्टीले महेन्द्रनगरमा आयोजना गरेको आमसभालाई सोमबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । दुई दशकपछि हुन लागेको चुनावको ठूलो महत्व रहेको भन्दै उहाँले निर्वाचनबाट भाग्ने काम नगर्न मधेसी मोर्चालाई आग्रह समेत गर्नुभयो ।
‘जनतालाई मताधिकार उपयोग गर्न दिनबाट कसैले पनि वञ्चित गर्नुहुदैन्’ उहाँले भन्नुभयो,‘सबै सहभागी हुने वातावरण तयार गर्नुपर्छ’ । उहाँले सरकारले अहिलेपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पहल गरिरहेको र अन्तिम समयसम्म पनि प्रयत्न जारी राखिने बताउनुभयो । राजनीतिक दलहरु मधेसी जनताको विरुद्व नरहेको भन्दै उहाँले मधेसमा भ्रम सिर्जना गरेर चुनावको वातावरण बिगार्ने काममा नलाग्न आन्दोलनरत मधेसी मोर्चालाई सुझाव समेत दिनुभएको छ ।
‘सिंहदरबारमा केन्द्रित रहेको अधिकार जनताको घरदैलोमा पुग्नुपर्छ’ उहाँले भन्नुभयो,‘यो निर्वाचनबाट जनताले आफ्ना प्रतिनिधि चुन्न पाउनेछन् र त्यसबाट जनताले राहत महसुस समेत गर्नेछन्’ । संविधान जारी भएपछि हुन लागेको पहिलो निर्वाचन कसैले बहिष्कार गर्ने, कसैले हुन नदिने जस्ता कुरा गरेर जनता माझ भ्रम नपार्न उहाँले चेतावनी समेत दिनुभएको छ । उहाँले बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न जनता आतुर रहेको प्रष्ट पार्नुभयो ।
लामो समयदेखी स्थानीय निर्वाचन नहुँदा देशमा भ्रष्टाचार, वेथिती बढेको भन्दै उहाँले अब निर्वाचन पछि जनता नै अधिकार सम्पन्न हुने बताउनुभयो । विदेशीको ईशारामा नेपाललाई धर्म्निरपेक्ष राज्य बनाइएको भन्दै उहाँले नेपाललाई हिन्दुराज्य बनाउने पार्टीको अभियान जारी रहने बताउनुभयो । प्रमुख तीन राजनीतिक दलका कारण देश संक्रमणकालिन अवस्थाबाट गुज्रिएको भन्दै उहाँले अब राप्रपाले नै मुलुकलाई निकास दिन सक्ने दाबी गर्नुभयो । राप्रपाले चुनाव जितेमा पहिलो प्राथमिकता विकास र रोजगारी हुने उहाँले बताउनुभयो । पहिलो संविधान सभाको निर्वाचन यता तीनवटै पार्टीका नेताहरुले सरकार चलाएपनि देश र जनताका लागि कहिल्यै काम नगरेको उहाँको भनाई छ ।