कहिले गर्ने शिर्षीकोट क्रुर हत्याकाण्डका दोषीलाई कार्वाही ?

1399
views

यज्ञ बहादुर थापा
पर्वत, 6, बैशाख । सशस्त्र द्वन्द्वका बेला एकै ठाउँमा पाँचजनाको हत्या भएको चर्चित घटना शिर्षीकोट हत्याकाण्ड ओझेलमा परिरहेको आफन्तहरुले बताएका छन् । बालकृष्ण ढुंगेल काण्ड, मैना सुनुवार काण्डमा अदालतले दोषी ठहर्याउने सकरात्मक कदम चालिरहेको बेला शिर्षीकोट घटनामा हत्या भएका आफन्तहरुले उक्त घटनाको उजागार गरेका हुन् । हत्याकाण्डमा संलग्न सेनाका अधिकारीहरुलाई आजीवन कारावासको सजायको माग गर्दै आफन्तले सत्य निरुपण तथा मेल मिलाप आयोगमा उजुरी दिएको बताएका छन् । सशस्त्र द्वन्द्वका बेला २०६१ मंसीर १७ गते भएको शिर्षीकोट हत्याकाण्डमा तात्कालिन सेनाका उच्च अधिकारीहरुको संलग्नता रहेको थियो । ‘हाम्रा विरुद्ध शान्तिकालमा आक्रमणको तयारी भइरहेको छ, ‘हामीले पनि शिर्षीकोट हत्या काण्डका दोषीलाई कार्वाही गर्न आवाज उठाईरहेका छौं, माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण पराजुलीले बताउनुभयो ।’ पराजुलीले भन्नुभयो ‘‘हामीलाई शान्तिपूर्ण कानुनी आक्रमण भइरहँदा चुप लागेर बस्ने अवस्था आउँदैन् ।’’ उक्त हत्याकाण्डमा विजय सुवेदी, कृष्ण गौतम, कुविजा पराजुली, मोहोन गाहामगर र खड्क कुँवरलाई तात्कालिन सेनाले क्रुरतापूर्वक सामुहिक हत्या गरेको थियो ।
स्याङजा शिर्षीकोटमा मारिएका पाँचै जनालाई क्रुरतापूर्वक हत्या गरिएको शहिद परिवार मनरुपा शर्माले बताउनुभयो । उहाँले भन्नुभयो ‘घटनामा नेपाली सेनाका उच्च अधिकारीहरुको संलग्नता रहेको छ, उनीहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गरिनुपर्छ ।’ सेनाले गरेको उक्त सामुहिक हत्याकाण्डका प्रत्यक्षदर्शी हिरा नेपालीका अनुसार मारिएकाहरुलाई आफै खाडल खन्न लगाइएको र छटपट्याई रहँदा खाडलमा पुरिएको थियो । उनीहरुलाई एकले अर्को मारिदाँ देखिने गरी मारिएको स्थानीयको भनाई छ ।
युद्धका बेला कब्जामा परेका व्यक्तिहरुलाई मार्न नहुने, बर्बर यातना दिन नहुने र सम्बन्धित ठाउँमा ल्याएर मुद्दा लगाउनु पर्ने अन्तराष्ट्रिय कानुन भएता पनि शिर्षीकोटमा निर्दोष निशस्त्र उनीहरुलाई कब्जामा लिई सामुहिक हत्या गरिएको बताईएको छ । आफन्तहरुले सञ्चारमाद्यमले घटनाको उजागार गरिदिनुपर्ने धारणा पनि राखेका छन् ।