संविधान संशोधनबारे ओलीको भित्री रहष्य खुल्दै

726
views

काठमाडौँ,७,बैशाख । संविधान संशोधनबारे अडान लिनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधनबारे सोच्न सकिने बताउनुभएको छ ।
थाइल्यान्डमा नियमित उपचार गरी आज स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचनमा अड्को थाप्ने र निर्वाचनसँग असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने जनाउँदै तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहो¥याउनुभयो । सरकारले संविधान संशोधनको नयाँ विधेयक एक साताअघि व्यवस्थापिका–संसदमा दर्ता गरेको थियो ।
अध्यक्ष ओलीले भन्नुभयो, “वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुन्छ भन्नेमा ‘बट र इफ’ भन्ने हुँदैन । यो लोकतन्त्रका लागि भात खानु जस्तै हो । यसमा सबैले भाग लिएर जनताका बीचमा निर्वाध आफ्ना कुरा राख्न म आग्रह गर्दछु ।”
दुई चरणमा स्थानीय निर्वाचनको सम्भावनाबारे सोधिएको प्रश्नमा उहाँको जवाफ थियो, “दुई चरणमा त हुन्छ, अहिले स्थानीयको हुन्छ, कात्तिकमा प्रदेशको हुन्छ ।” विभिन्न मधेसी दल आपसमा एकीकरण हुनु सकारात्मक कार्य हो भन्दै उहाँले पार्टीले निर्वाचनको घोषणापत्र जारी र उम्मेदवार चयनको अन्तिम प्रक्रियामा रहेको पनि उल्लेख गर्नुभयो ।
ओलीले स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकको सुझावअनुसार आफ्नो हर्नियाको शल्यक्रिया गरिएको र त्यो सफल भएको बताउनुभयो ।