सिटिजन्स बैंकले ८८ करोड २८ लाख रुपैयाँ नाफा कमायो

1316
views

काठमाडौं, ७, बैशाख । सिटिजन्स बैंकको नाफा २१.८१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाश (चैतसम्म) ७२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा भने ८८ करोड २८ लाख रुपैयाँ कमाएको हो ।
गत वर्ष १ अर्ब १६ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब २५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब ८ प्रतिशतको मात्र वृद्धि देखिएको छ ।
बैंकले ५० करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ । बैंकले ८२ करोड ९४ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ । बैंकको अन्य क्षेत्रबाट हुने आम्दानी शुन्य भएर यसबापत ३८ करोड रुपैयाँ खर्च भएको छ ।
बैंकले २३ करोड १९ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ । बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै सहज अवस्थामा छ । यो अनुपात १३.८५ प्रतिशत रहेको छ । बैंकमा खराब कर्जाको अनुपात घट्दै गएर १.५५ प्रतिशतमा सिमित भएको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) निकै सहज अवस्थामा आएको छ । यो दर ६७ प्रतिशत मात्र छ । बैंकहरुलाई केही समयको लागि उत्पादन मुलक क्षेत्रमा गएको कर्जाको ५० प्रतिशत हिस्सा यस दरको गणनामा लिन नपाइने व्यवस्थाले घटेको देखिन्छ ।
बैंकको चुक्ता पुँजीमा ५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप २५ प्रतिशतले बढेर ५५ अर्ब ५६ करोड र कर्जा २६ प्रतिशत बढेर ४७ अर्ब ८० करोड लगानी भएको छ । बैंकको पुँजी लागत बढेर ७.१० प्रतिशत पुगेको छ भने कर्जा दिदा आधार मानिने बेस रेट पुसको ७.७८ को तुलनामा बढेर १०.०३ पुगेको छ ।