म्यादी प्रहरीको तलब ५१ हजार, वीमा २ लाख

838
views

काठमाडौं, ७, बैशाख । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय चुनावको लागि भनेर भर्ना भएको म्यादी प्रहरीको सेवा सुविधा पारित गरेको छ । बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् । यस पटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर दिनेछैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ ।
यसका अतिरिक्त पनि म्यादी प्रहरीका लागि सुविधा निर्धारण गरिएको छ । निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ ।
५५ दिनको बिशेष वीमा
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई आवश्यक तालिम दिएर गृहमन्त्रालयले सम्बन्धित मतदान स्थलमा खटाउँछ ।
निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष वीमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय गरेको हो । निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् । उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ ।