बाग्लुङबजार र पर्वत पाङ जोड्ने पुल निर्माण हुँदै

2099
views

नवदृष्टि संवाददाता
पर्वत, ७, वैशाख । छिमेकी जिल्ला बागलुङको सदरमुकाम बागलुङ बजार र पर्वत सदरमुकाम कुश्मा नगरपालिका–१ पाङ जोड्ने पुलको निर्माण कार्य सुरु भएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी उक्त झोलुङ्गे पुल निर्माणका लागि चालु आवमा दुई करोड विनियोजन भइसकेको जिल्ला समन्वय समिति पर्वतले जनाएको छ ।
पुल निर्माणका लागि सरकारले पहिलो चरणअन्तर्गत विस्तृत सर्वेक्षण गरी लागत स्टिमेटको विवरण तयार गरिसकेको छ । उक्त पुललाई टेन्डर प्रक्रिया मार्फत आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
विज्ञहरुले तयार गरेको लागत विवरणको स्टिमेट विभागमार्फत जिल्लामा अनुमोदनका लागि प्राप्त भएपछि थप कार्य अगाडि बढाइएको जिल्ला प्राविधिक कार्यालय पर्वतका प्राविधिक शिव बरालले जानकारी दिनुभयो ।
पर्वतको कुश्मा नगरपालिका–७ स्थित खरेहाबाट कुश्मा नगरपालिका–१० ज्ञादी जोड्ने मोदीखोलामाथि पनि अर्को अग्लो पुलको समेत निर्माण कार्य सुरु गर्ने तयारी भएको छ ।