स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार

666
views

नवदृष्टि संवाददाता
काठमाडौँ, ७ वैशाख । आसन्न्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा निकायलाई योजनाबद्ध रुपमा परिचालन गरिएको बताउनुभएको छ ।
जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकाय संलग्न रहने गरी समन्वयात्मक सुरक्षा योजना लागू गरिएको, शान्ति सुव्यवस्था कायम गरी निर्वाचन हुने वातावरण बनाइएको र राजनीतिक दलले निर्वाचनको प्रचार प्रसारसमेत सुरु गरिसकेको निधिले व्यवस्थापकिा बैठकमा जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष समय लिदैं गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन केन्द्रीय, क्षेत्रीय तथा स्थानीय योजना बनाएर लागू गरिएको उल्लेख गर्नुभयो ।
सरकारले सामान्य, संवेदनशील र अतिसंवेदशील क्षेत्र पहिचान गरी निर्वाचनका लागि सुरक्षा निकायलाई परिचालन गरिएको जानकारी पनि उहाँले दिनुभयो ।
गृहमन्त्री निधिले सांसद सत्यनारायण मण्डलको घरमा भएको भनिएको आक्रमण र दुव्र्यवहारमा संलग्नमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको सदनलाई जानकारी दिनुभयो । मुलुकका विभिन्न स्थानमा भएको आगलागी, चट्याङ, पहिरोमा परेर भौतिक तथा मानवीय क्षति भएकालाई सरकारले क्षतिपूर्ति प्रदान गरेको र केही स्थानमा बाँकी रहेको भए शीघ्र राहत प्रदान गरिने पनि उहाँले बताउनुभयो ।