लाङमाले हिमताल फुट्दा करोडौंको क्षति, होटल, गोठ, पुल र चौपाय बगे

650
views

काठमाडौँ १० बैशाख । मकालु हिम श्रङखला अन्तर्गत ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल बिहिबार दिउसो बिष्फोटन हुदाँ करोडौंको क्षति भएको छ । यउपा पिकको फेदमा रहेको हिमताल बिष्फोटन हुदाँ होटल, गोठ, पुल र चौपाय बगाएको हो । यता मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाए पछि विचबाटोमै अलपत्र परेका छन् ।
स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोड बगाएको बताउनुभयो । बाढीले मकालु वालाखर्कका रिन्जी शेर्पाको करिव दुई दर्जन बढी याक र चौरी बगाएको अनुमान छ ।बाढीले बाटो बगाए पछि मकालु हिमाल आरोहण र अवलोकनका लागि पुगेका पर्यटक अलपत्र परेका छन् । पर्यटन विभागमा ६ जना आरोहीले मकालु आरोहणका लागि अनुमती लिएका छन् । जाने बाटो नभए पछि यस बर्ष  मकालु हिमाल आरोहण समेत रोकिन सक्ने स्थानीय छेपाल शेर्पाको भनाई छ । २०५० सालमा विष्फोटन भएको यो ताल बार्षिक रुपमा सामान्य बिष्फोट हुने गरेको शेर्पाले जानकारी दिनुभयो । बाढीले होटल बगाउदा छेपाल शेर्पाको मात्र करिव एक करोड बरावरको धनमाल बगाएको निकुन्जको प्रारम्भीक अनुमान छ ।
मकालु क्षेत्रको ठूलो हिमताल ठूलो पोखरी पनि विष्फोटको जोखिममा रहेको अध्ययनले देखाएको छ । पछिल्लो समय बढी हिमपात भएकाले पानीको सतह बढ्दा हिमताल फुटेको हुनसक्ने मकालु बरुण राष्ट्रिय निकुन्जका लाकपद कुलुङले बताउनुभयो । मकालु आधारशिविर देखि दुईघण्टा दक्षिणमा रहेको यो हिमतालको अवस्था बारे कसैलाई पनि जानकारी नभएको भन्दै तत्काल अवस्थाको जानकारी दिन स्थानीयबासीले सरकारसँग माग गरेका छन् ।
गोठालोले मात्र देखेको यो ताल अत्यन्तै खतरामा रहेको छेपालको भनाई छ । याङमाले हिमतालबाट सिर्जना भएको खोला बरुण नदिमा आएर मिसिएको छ । बरुण किनार हुदै मकालु हिमाल जानु पर्ने भएकाले बाटो पुरै बगाएको निकुन्जले जनाएको छ । याङलेखर्क देखि एक क्याम्प माथि रहेको याङमाले क्याम्प आधारशिविर भन्दा तलको क्याम्प हो ।