एकै चरणमा चुनाव गर्नुपर्ने एमालेको निष्कर्ष

709
views

काठमाडौं, ११ बैशाख । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनुपर्ने निष्कर्ष निकालेको छ । वैशाख ३१ मै एकै चरणमा स्थानीय तहको निर्वाचन हुनु पर्ने निष्कर्ष प्रमुख प्रतिपक्षी दल एमालेको निष्कर्ष हो । यसअघि हिजोमात्रै सरकारले स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा गर्ने र १, २ ५ र ७ नम्बरमा जेठ ३१ मा गर्ने निर्णय गरेपछि एमालेले यस्तो धारणा बाहिरिएको हो । बैठकले सरकारले मधेसवादी दलहरुसँग सहमति गरेर ल्याउन लागेको परिमार्जनसहितको संविधान संशोधन विद्येयकलाई निर्वाचन विथोल्ने षड्यन्त्र भएको ठहर गरेको छ । सरकारले ल्याउन लागेको परिमार्जसहितको संविधान संशोधन विधेयक राष्ट्रघातीसमेत भएको ठहर पनि बैठकले गरेको एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ प्रतिपक्षी दल एमालेलाई जानकारी नै नदिई जसरी सरकारले मधेसवादी दलहरुसँग वार्ता र सहमति गरेर भएको निर्वाचन सार्ने र संविधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ । यो एमालेलाई मान्य छैन ।’

बैठकले संसदको प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सल्लाह र जानकारी नै नदिईँ स्थानीय तहको निर्वाचन पहिलो चरणमा वैशाख ३१ र दोस्रो चरणमा जेठ ३१ मा गर्ने सरकारको निर्णयप्रति आपत्तिसमेत जनाएको छ । बैठकले सरकारले मधेसीवादी दलसँग सहमति गरेर चुनावको मिति सारेर चुनाव भाड्ने दिशातर्फ अग्रसर भएको ठहरसमेत गरेको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ दुई चरणमा गर्दा सवै दल चुनावमा आउँछन् भन्ने ग्यारेन्टी के छ। चुनावमा कसैले म भाग लिन्न र मतदान गर्दिन भन्न पाउँछ । तर, सरकारले विभिन्न षड्यन्त्र गरेर निर्वाचन भाड्न खोजिरहेको छ । त्यो एमालेलाई स्वीकार्य छैन ।’