शुल्कबृद्धि फिर्ता लिन वैद्य अखिल (क्रान्तिकारी)काे चेतावनी

769
views

काठमाडौं, १२, बैशाख  वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले एक वक्तव्य जारी गर्दै निजी विद्यालयका संचालकहरुले अभिभावकबाट विभिन्न शीर्षकमा चर्को शुल्क उठाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बृद्धि गरिएको शुल्क ७ दिन भित्र फिर्ता गर्न अल्टिमेटम दिएको छ ।

क्रान्तिकारीका अध्यक्ष सेवन्त राज भण्डारीको हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ, “शैक्षिक सत्रको सुरुवातसँगै निजी विद्यालय संचालकहरुले अस्वभाविक शीर्षक राखेर चर्को शुल्क उठाउँदै अवैधानिक तरिकाबाट पोषक तथा पाठ्यसामग्रीहरु बिक्री मार्फत ब्रह्मलुट गरीरहँदासमेत सरकार तथा सम्बन्धित निकायहरु मुकदर्शक बनिरहेको छ ।”

सर्बोच्च अदालतको परामदेश विपरीत निजी विद्यालयहरुले अभिभावकको ढाड सेक्नेगरी ६० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै क्रान्तिकारीले ७ दिनभित्र बृद्धि गरिएको शुल्क फिर्ता लिन अल्टिमेटम दिएको हो ।

निजी विद्यालयहरुले उक्त शुल्क वृद्धि फिर्ता नगरे एवम् सरकार पक्षले कुनै चासो नदेखाए संगठन कडा संघर्ष तथा कारवाहीमा उत्रन बाध्य हुने र त्यसको परिणाम गम्भीर हुने समेत क्रान्तिकारीले चेतावनी दिएको छ ।