एसिया-युरोप र अफ्रिका जोड्ने परियोजनामा हस्ताक्षर गर्ने सरकारको तयारी

700
views

काठमाडौ,१५, बैशाख । नेपालले चीनसँग ‘वान बेल्ट वान रोड’ (ओबर) परियोजनामा हस्ताक्षर गर्ने तयारी गरेको छ । बैशाख ३१ र जेठ १ गते बेइजिङमा हुने ओबर सम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलनमा हस्ताक्षरको तयारीका साथ नेपाली प्रतिनिधिमण्डल चीन जान लागेको छ । सम्भवत उपप्रधान तथा अर्थभन्त्री कृष्ण बहादुर महराको नेतृत्वमा ओबरमा हस्ताक्षरको तयारीका साथ नेपाली प्रतिनिधिमण्डल बेइजिङ जाने भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले बताए ।

‘सरकारले ओबरमा हस्ताक्षरको तयारी गरिरहेको छ’, मन्त्री लेखकले भने, ‘छलफलमै छौं कहिले अन्तिम निष्कर्षमा पुगेका छैनौं ।’ उनका अनुसार ‘वान बेल्ट वान रोड’ परियोजनामा हस्ताक्षरको बारेमा मन्त्रिपरिषदमा छलफल चलिरहेको छ । ओबर सम्वन्धी सम्मेलनमा अतिथिको रुपमा वाणिज्यमन्त्री, भौतिक योजना तथा यातायात मन्त्री, सूचना तथा सञ्चारमन्त्री, र परराष्ट्रमन्त्रीलाई निमन्त्रणा गरेको छ ।

गत चैत्रमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सी जिङपिङले ओबर बारे जिज्ञासा राखेका थिए । चीन भ्रमणबाट फर्कने क्रममा प्रधानमन्त्री दाहालले आफुले ओबरमा प्रतिवद्धता जनाएको बताएका थिए । चीनको महत्वकांक्षी ओबर परियोजनालाई संसार कै ठूलो आर्थिक करिडोरको रुपमा लिने गरिन्छ । परियोजनाले एसिया, युरोप र अफ्रिका जोड्ने छ ।