बारामा अवैध कपडा बरामद गर्दा स्थानीय र प्रहरीबीच झडप

डिएसपी सहित एक जवान घाईते

811
views

नवदृष्टि संवाददाता

पर्वत, १५, बैशाख । भारतसँग सीमा जोडिएको बाराको कचोर्वामा तस्करी गरी ल्याइएको अवैध कपडा नियन्त्रणमा लिने क्रममा शुक्रबार प्रहरी र गाउँलेबीच झडप भएको छ । विशेष सुराकीका आधारमा डिएसपी राजेन्द्रबाबु रेग्मीको कमाण्डमा गएको ५१ जना प्रहरीको टोलीलाई करिब तीनसय जना स्थानीयले घेरेपछि भएको झडपमा डिएसपी राजेन्द्र बाबु रेग्मी र प्रहरी जवान मोहर ठाकुर सामान्य घाईते भएका छन् ।

सिम्रौनगढ नगरपालिका–९ कचोर्वामा भएको उक्त झडपलाई नियन्त्रणमा लिनको लागि प्रहरीले तीन राउण्ड हवाईफायर गरेको प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार अवैध कपडा चोरी पैठारी गरेको थाहा पाएपछि विश्वनाथ जैसवालको घरमा गएको र जैसवालको घरबाट तीन पोका अवैध कपडा र पशुपति जैसवालको घरबाट १० बण्डल गरी १० लाख मुलय बराबरको अवैध कपडा बरामद गरिएको हो । अबैध रुपमा ल्याइएको कपडा नियन्त्रणमा लिन खोज्दा करिब तीनसय जना स्थानीय आई ढुंगामुढा गरेका थिए । सोही बेला तस्करको गोली लागि सामान्य घाईते भएको रेग्मीले बताए । स्थानीयले अन्धाधुन्दा ढुङ्गामुढा गरेपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको समेत जानकारी दिए । फोर्स सानो भएकोले स्थिति नियन्त्रणमा आउन नसकेपछि बाध्य भई तीन राउण्ड गोली चलाएको रेग्मीले बताए ।
झडपमा संलग्न ४२ बर्षिय युवा लक्ष्मी यादवलाई नियन्त्रणमा लिएको र अन्य फरार भएको प्रहरीले जनाएको छ । प्रहरी माथि आक्रमण गरेको आरोपमा स्थानीय लक्ष्मी यादवलाइ प्रहरीले पक्राउ गरेको छ । स्थानीय निकायको चुनाव नजिकिदै गर्दा बढेको घट्ना भएकोले चोरी पैठारी नियन्त्रण अवैध भन्सार छली नियन्त्रणका लागि लिएको कदम भएको रेग्मीले बताए ।