सन्दिप पाठक
पर्वत, २४ चैत्र । अधिबक्ता यज्ञ बहादुर थापालेपर्वतमा स्वतन्त्र उम्मेदवारी दिने उद्घोष गरेका छन् । स्थानीय तहको चुनावी सरगर्मी बढेपछि क्रियाशिल पार्टीहरुले उमेदवारी चयनमा मुख ताकाताक गरिरहेका बेला अधिबक्ता थापाले जलजला गाउँपालिकाको अध्यक्ष पदका लागि स्वतन्त्र उमेदवारी दिने बताएका हुन ।
जलजला गाउँपालिकामा थापाले दिने उमेदवारीलाई अर्थपूर्ण रुपमा हेरिदै आएको छ । थापाको पक्षमा क्रियाशिल विभिन्न राजनीतिक पार्टीले सहयोग गर्ने बताउँदै आएका छन । स्पष्ट अवधारणा सहित चुनावी मैदानमा उत्रिने उद्घोष गरेका अधिबक्ता थापाले जिल्ला केन्द्रित सम्पूर्ण कार्यालयहरु जलजला गाउँपालिकामा ल्याई सेवा विस्तार र सञ्चालन गर्ने । सम्पूर्ण वडा तथा ईकाईहरुमा गाउँपालिका केन्द्रबाट सडक सञ्जाल विस्तार गर्ने, मालढुङ्गा–बेनी सडकखण्डबाट जलजला गाउँपालिकाका वडा तथा ईकाईहरुमा पुग्ने सडकालाई कालोपत्रे गर्ने, गाउँपालिका केन्द्रमा ५० शैयाको अस्पताल निर्माण गर्ने उनको लक्ष्य रहेको छ । थापाले वनजन्य पैदावार उद्योग धन्दाको स्वरोजगारमुखी कार्यक्रम तय गर्ने, घरघरमा शुद्ध पिउने पानीको व्यवस्था गर्ने, गाउँ न्यायिक समितिमा सरलता प्रदान गरी निश्पक्ष न्याय प्रदान गर्ने सहितको स्पष्ट अवधारणा प्रस्तुत गर्दै स्वतन्त्र उमेदवारी दिने उद्घोष गरेका हुन ।पर्वतको जलजला गाउँपालिकाको केन्द्र स्थान विवादित र आन्दोलित रहेकोले उनले दिने उमेदवारीले समाधान दिने देखिएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य रुद्रलाल उपाध्याय भन्छन्–‘अधिबक्ता थापाले स्वतन्त्र उमेदवारी दिएको खण्डमा समस्या सुल्झिने र अन्य पार्टीले सहि उमेदवार चयन गर्न नसके थापाको स्वतन्त्र उमेदवारी अर्थपूर्ण रहनेछ ।
बैद्य निकट मानिएका याम बहादुर कार्कीले पनि कानुनविद् थापाले स्वतन्त्र उमेदवारी दिए आफुले सर्मथन गर्ने बताउँदै उनको उमेदवारीलाई माओवादी केन्द्रले समेत सर्मथन दिनुपर्ने अवस्था रहेको बताए । थापालाई पुरानो राजनीति गर्दै आएका मल्लहरुको बलियो साथ समर्थन दिने अवस्था रहेको मोहित मल्लले बताए ।
थापाको उमेदवारीलाई राप्रपा निकट पुराना नेता क्याप्टेन टेक बहादुर जिसीले अर्थपूर्ण रहेको बताएका छन । यस्तै माओवादी केन्द्र निकटका ल्याप्टेन मिन बहादुर खत्रिले थापालाई उमेदवारी दिए सर्मथन गर्ने बताएका छन ।
यता विप्लव माओवादी निकटका व्यक्तिहरुले समेत थापाले उमेदवारी दिए समर्थन दिने जनाएका छन । एमाले निकट मानिएका दिल बहादुर हमालले थापाको स्वतन्त्र उमेदवारीले सर्वसहमतिको ढोका खुलेको बताएका छन । उनको उमेदवारीको निर्णयले जलजला गाउँपालिकामा योग्य उमेदवार चयन गर्ने बाटो खुलेको छ । अधिबक्ता थापाले योग्य व्यक्ति सर्वसहमतिले चयन भए पछाडि हटने समेत नवदृष्टिलाई बताएका छन ।
अधिबक्ता यज्ञ बहादुर थापाले स्वतन्त्र उमेदवारी दिने उद्घोष गरेपछि जलजला गाउँपालिकावासीले असल नेतृत्व पाउने आशा गरेका छन ।










