कालीगण्डकीको पानी पैयूँपाटामा

2132
views

निर्मल पौडेल
पर्वत, २७ चैत्र । बाग्लुङ नगरपालिका वडा नं १४ को नारायणस्थान र १३ को पैयूँपाटामा कालीगण्डकी तिरको जल्केनी मुहानबाट पिउने पानीको व्यवस्था गर्न थालिएको छ । कालीगण्डकी तिर देखी ३ सय ९० मिटर उचाईमा रहेको बस्तीलाई लिफ्ट सिस्टमबाट पानीको व्यवस्था गर्न लागिएको हो ।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत गरी १० करोड ६२ लाख रुपैयाँ लगानीमा सो आयोजनाको निर्माण कार्य भइरहेको नारायणस्थान खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर खत्रीको भनाई छ ।
चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले जिम्मा लिएको निर्माणधिन आयोजनाको ३५ प्रतिशत काम पुरा भैसकेको कम्पनीले जनाएको छ । आयोजनाको दुईलाख लिटर पानी अट्ने क्षमताको ट्याङ्ककी र भवन निर्माण भइसकेको छ ।
यस आयोजनाबाट बाग्लुङ नगरपालिका १४ का नौ सय घरधुरी र बानपा १३ पैयूँपाटाका एकसय २५ घरधुरी लाभान्वित हुने भएका छन । निर्माण समयदेखी १५ बर्ष पछाडीको जनसंख्यालाई पानी पुग्ने गरी डिजाईन गरिएको आयोजनाको टयाङ्की निर्माणपछि ३२ किलोमिटर दुरीमा वितरण पाइपलाईन विच्छ्याउने काम गर्न थालिएको अध्यक्ष चक्र बहादुर खत्रीले बताए ।

आगामी २०७५ मसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको काम तिव्र गतिले अगाडी बढेपछि यहाँका उपभोक्ताहरु हर्षित भएका छन् । पिउने पानीको अभावमा घण्टौ समय कुनुृपर्ने वाध्यताका उपभोक्ताहरुले जुल्केनी मुहानको पानी पैयुपाटा आउन सक्ने कल्पना समेत गरेका थिएनन् ।
अहिलो सो क्षेत्रका बासिन्दालाई लिफ्ट सिस्टमबाट एक घर एक धारा निर्माण गर्ने गरी खानेपानीको पहुँच विस्तार गरिने भएको छ । अत्यधिक उचाईमा पानी आउने भएपछि पिउने पानीमा हुने हाहाकारको समस्याको अन्त्य हुने उपभोक्ता एवं समितिका सदस्य कृष्ण अखेलीले बताएका छन । कालिगण्डकी तिरको जल्केनी मुहान देखी नारायण स्थान र पैंयूपाटा वडामा पुग्न झण्डै एकघण्टाको उकालो बाटो हिड्नुपर्दछ । ओरालो बग्ने पानी प्रविधीको प्रयोगले ठाडो बाटो हिड्याइएको छ । सो क्षेत्रका वासिन्दालाई पिउने पानीको समस्या बषौंदेखिको थियो । पानीको मुहान नभएको सो क्षेत्रका लागि निर्माणाधिन खानेपानी आयोजनाले यहाँका वासिन्दालाई खानेपानीको पहुँच पुग्ने अपेक्षा गरिएको छ ।     तस्विरः िनिर्मल पौडेल  www.navadristi.com