भारतीय नागरिक कुलभूषणमाथि पाकिस्तानमा मृत्युदण्डको फैसला

जासुसको आरोपमा मृत्युदण्डको फैसला

1355
views

एजेन्सी । पाकिस्तानमा जासुस भएको आरोपमा भारतीय नागरिक कुलभूषण सुधीर जाधवलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानले उनी भारतीय गुप्तचर निकाय ‘रअ’ का एजेन्ट भएको दाबी गर्दै आएको छ ।
कुलभूषण जाधवलाई सन् २०१६ को ३ मार्चमा बलुचिस्तानमा गिरफ्तार गरिएको थियो । उनीमाथि पाकिस्तानले आफ्नो देशमा जासुसी गरेको आरोप लगाउँदै सैनिक अदालतमा मुद्दा चलाएको थियो ।
जासुसको आरोपमा उनीमाथि पाकिस्तानमा सैनिक कानुनअनुसार सैनिक अदालतमा मुद्दा चलिरहेको थियो । यसमा कुलभूषणमाथिको आरोप सही साबित भएको भन्दै मृत्युदण्डको सजाय तोकिएको हो । पाकिस्तानका सैनिक प्रमुख कमर जाभेद बाजवाले कुलभूषणलाई मृत्युदण्डको सजाय भएको पुष्टि गरेका छन् । उनले कुलभूषणलाई आफ्नो बचाउका लागि कानुनी सहायता समेत उपलब्ध गराएको दाबी गरेका छन् ।
भारतले भने उनी जासुस भएको भन्दै पाकिस्तानी आरोपको खण्डन गर्दै आएको थियो । भारती विदेशमन्त्रालयले भनेको थियो, ‘हाम्रो अनुसन्धानमा पत्ता लागेको छ कि भारतीय नागरिकलाई प्रताडित गरिएको छ, जो इरानबाट कानुनी तरिकाले आफ्नो कारोबार सञ्चालन गरिरहेका थिए । हामी उनको अपहरण भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।’
मन्त्रालयले आरोप निराधार रहेको दाबी गर्दै आएको छ । पाकिस्तानले आफ्नो आरोपको सबुतमा सेना र सरकारको एक साता पत्रकार सम्मेलनमा कुलभूषण जाधवको भिडियो देखाइएको थियो ।
भिडियोमा यी व्यक्तिले भारतीय नौसेनाका अधिकारी र भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को सदस्य भएको बताएका छन् । तर भारतीय विदेश मन्त्रालयले भने उनले सामान्य रुपमा नै बयान लिएकोमा आशंका जनाएको छ ।६ मिनेटको सो भिडियोमा कुलभूषणले १९९१ मा भारतीय नौसेनामा सामेल भएको र सन् २०१३ देखि ‘रअ’ का लागि काम गर्न सुरु गरेको बताएका छन् । उनको गिरफ्तारीको मुद्दा संयुक्त राष्ट्र संघ सम्म पनि उठाइएको थियो । यसैबीच भारतले आफ्ना नागरिकलाई मृत्युदण्डको सजाय दिने फैसलाको कडा विरोध जनाउँदै यसलाई जाधवको सुनियोजित हत्या गर्ने कोशिसको संज्ञा दिएको छ । पाकिस्तानले भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को एजेन्ट भएको भन्दै जाधवलाई मृत्युदण्डको सजाय दिने फैसला गरेपछि भारत आक्रोसित बनेको हो ।
भारत सरकारले जाधवलाई गत वर्ष बलुचिस्तानबाट नभई इरानबाट अपहरण गरेको आरोप लगाउँदै यस विषयमा कहिल्यै विश्वसनीय ढंगले नभनिएको जनाएको छ ।इस्लामाबादस्थित भारतीय दूतावासले अन्तर्रा्ष्ट्रिय कानुनअनुसार २५ मार्च २०१६ देखि ३१ मार्च २०१७ सम्म १३ पटक जाधवलाई भेट्न अनुमति मागेपनि नदिइएको भारतको दाबी छ । उनलाई मृत्युदण्डको सजाय सुनाएपछि महाराष्ट्रस्थित कुलभूषणको घरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।