उत्तर कोरिया र अमेरिकाबिचको तनाव उत्कर्समा

1491
views

एजेन्सी । सिरियामा अमेरिकी हमलापश्चात् उत्तर कोरिया र अमेरिकाबिच तनाव बढिरहेको छ । उत्तर कोरियाले अमेरिकालाई आफ्नो देशलाई सिरिया सम्झने भूल नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी मिडियाले मंगलबार यदि अमेरिकाले उक्साए उनको देश परमाणु हमला गर्ने तयारी अवस्थामा रहेको भनी चेतावनी दिएको छ ।
उत्तर कोरियाको सरकारी पत्रिका रोडोंग सिनमुनले देशले संयुक्त राज्यको कुनै पनि आक्रमणलाई जवाफ दिनका लागि आफू सक्षम भएको बताएको छ । ‘हाम्रा क्रान्तिकारी सेना दुश्मनको सबै गतिविधिमाथि निगरानी गरिरहेको छ । यसका साथै नाभिकीय निगरानी तन्त्रले केवल दक्षिण कोरिया र प्रशान्त महासागरमा मात्र नभई अमेरिकाको मुख्य भूमिमा उनीहरुको सैन्य अड्डामा निगरानी गरिरहेको छ,’ उक्त पत्रिकाले बतायो ।
यसका साथै दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति ह्वाङ क्यो आनले सेनालाई सर्तक रहन र अमेरिकी फौजलाई सहयोग बढाउने कुरा अघि सारेको छ । उनले उत्तर कोरियाले परमाणु परिक्षणका साथै अन्य भड्किलो कारवाही पनि गर्नसक्ने आशंका जताएका छन् ।