बिखण्डनकारी सीके राउतलाई अदालतको झट्का

940
views

नवदृष्टि संवाददाता
काठमाडौं, ३० चैत । जिल्ला अदालत सिरहाले  सीके राउतलाई झट्कामुलक आदेश दिएको छ । राउतको राहदानी र बैंक खाताहरु रोक्का गर्न आदेश दिएको छ । मध्य तराईका विभिन्न जिल्लाहरुमा विखण्डनकारी गतिविधि चलाउँदै आइरहेका राउतका नाममा रहेका राहदानी र बैंक खाताहरु रोक्का गर्न आदेश दिएको हो ।
सीके राउतले स्वतन्त्र मधेस गठबन्धनका नाममा मधेसलाई टुक्र्याएर अलग राष्टबनाउने भन्दै विखण्डनकारी अभिव्यक्ति र गतिविधि चलाउँदै आएका छन् ।
उनले आफ्ना गतिविधिहरु विखण्डनकारी नरहेको भन्दै विशेष अदालत र स्थानीय प्रशासनहरुमा झुठो विवरण दिँदै आएका छन् । तर, उनका गतिविधि र दस्तावेजहरुले विखण्डनकारी अभियान चलाएको पुष्टि हुने थुप्रै आधारहरु रहेको प्रहरी भनाई छ ।
जिल्ला अदालतको आदेशअनुसार सीके राउतको राहदानी रोक्का गर्न सिरहा प्रहरीले चैत १५ गते परराष्ट मन्त्रालयलाई पत्र पठाइसकेको स्रोतको भनाइ छ । त्यसैगरी प्रहरीले चैत १६ गते सीके राउतको नाममा रहेका सबै बैंक खाताहरु रोक्न पनि पत्र पठाइएको उच्च स्रोतको भनाइ छ ।
सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको आदेशपछि सीके राउतको नाममा रहेको बैंक खाता रोक्न आदेश दिइएको हो । अब सीके राउतले राहदानी पनि पाउने छैनन् ।
सीके राउतको विखण्डनकारी अभियानलाई सहयोग पुग्ने गरेर विभिन्न दातृ निकाय, एनजिओ तथा व्यक्तिहरुले ती बैंक खाताहरुमा पैसा पठाउने गरेका थिए ।
राज्य विरुद्धको संगठित अपराधमा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय लहान, सिरहा सीके राउतमाथि मुद्दा चलाइरहेको छ ।
सीके राउतले आफ्नो विखण्डनकारी अभियानमा विशेष गरेर बेरोजगार र अशिक्षित मधेसी जनताहरुलाई फकाएर लगाउने गरेका छन् ।
सीके राउतको नाममा कुमारी बैंक पुतली सडक काठमाडौं र सनराईज बैंक लिमिटेड राजविराज सप्तरीमा खाता छ । ती खाताहरु रोक्का गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ ।
यसैबीच, नेपाल प्रहरीले सीके राउतले बिखण्डनकारी अभियान चलाउन प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, यूट्यब जस्ता एकाउन्ट सबै बन्द गरिदिने जनाकारी प्राप्त भएको छ ।