मुसहर समुदाय नमुना बस्ती बन्यो

धुर्मुस–सुन्तलीले हस्तान्तरण गरे ५३ वटा घर

1846
views

नवदृष्टि संवाददाता
बर्दिबास । महोत्तरीको बर्दिबास–२ मा मुसहर समुदायका लागि निर्माण भएको एकीकृत नमुना बस्ती स्थानीय मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउन्डेशनले बनाएको ५३ वटा भवन शुक्रबार अर्थात् नयाँ बर्ष २०७४ सालको सन्दर्भ पारी एक समारोहकाबीच हस्तान्तरण गरिएको हो । हास्य कलाकारद्वय महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्तु सदालाई साँचो दिएर बस्ती हस्तान्तरुण गरे ।
बस्ती हस्तान्तरण कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदी, महजोडी, कलाकार धुर्मुस, सुन्तलीका बुबा आमा लगायत उपस्थिति थिए । फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ । बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको फाउन्डेसनले जानकारी दिएको छ ।
फाउन्डेशनका अनुसार एक घर बनाउन करिब ८ लाख खर्च भएको छ । मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो । बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ । बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ । हरेक घर अगाडि बगैचा तयार गरिएको छ । बगैचामा अशोकका बिरुवा रोपिएका छन् । यसले बस्तीलाई हरियाली र वातावरणमैत्री बनाउने कलाकार कट्टेलले बताए ।