पर्वतमा एकसय ७४ निर्वाचन स्थलमा कर्मचारी खटिए

पहिलो हुने निर्वाचनमा ३ सय १९ जना उमेदवार निर्वाचित हुने

1310
views

नवदृष्टि संवाददाता
पर्वत, २, बैशाख । स्थानीय तह निर्वाचन सम्पन्न गराउन पर्वतका एकसय ७४ निर्वाचन स्थलमा एकसय २४ जना कर्मचारी खटिएका छन् । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गराउन मतदान शिक्षा एवं निर्वाचन शिक्षा प्रदानका लागि कर्मचारी खटाइएको हो । चारदिने तालिम पश्चात महिला स्वयंसेविका तथा पुरुष स्वयंसेवकहरु निर्वाचन स्थलमा खटाइएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिएका छन् ।
निर्वाचनमा मतदान गर्ने प्रक्रिया सिकाउनका लागि स्वंसेविकाहरु खटिएका हुन शर्माले भने ‘स्थानीय तहको निर्वाचनका लागि चारदिने तालिम दिएर दुई नगरपालिका र पाँच गाउँपालिकाका एकसय ७४ स्थलहरुमा मतदाता शिक्षा प्रदान गर्न स्वयंसेविकाहरु खटिईसकेका छन् ।’
२०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सहभागि हुने मतदाताहरुलाई उमेदवार चयन गर्ने तथा मतदान गर्ने प्रकृयाको बारेमा जानकारी गराउने उद्वेश्यले प्रशिक्षण दिइएको थियो । जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार ९० प्रशित महिला कर्मचारी र १० प्रतिशत पुरुष कर्मचारी छनौट भएका छन् ।
स्थानीय तहको निर्वाचनमा उमेरको हदमा २१ बर्ष पुगेको र फौजदारी अभियोग नलागेको हुनुपर्ने छ । स्थानीय तहको पहिलो निर्वाचनमा नगरपालिका, गाउँपालिका, र वडा अध्यक्ष र सदस्यहरु सहित तीनसय १९ जना उमेदवारहरु चयन हुनेछन् । पर्वतका पाँच गाउँपालिका मध्ये मोदी गाउँपालिका,जलजला, विहादी, पैंयू गाउँपालिका, र महाशिला गाउँपालिका सहित कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा ६१ वडाहरु रहेका छन् । पाँच गाउँ पालिका र दुई नगरपालिका घोषणा भएको पर्वतमा दुई मेयर दुई उपमेयर र प्रत्येक गाउँपालिकामा अध्यक्ष सहित पाँचजना उमेदवार छनौट हुनेछन । दलिय चिन्ह माग गरि आन्दोलनमा रहेका दलहरुको भने टुङ्गो लागिसकेको छैन ।