जिब्रो छेड्ने जात्रा सकियो

परम्परालाई निरन्तरता दिन यसरी छेडे वृद्ध कृष्णले जिब्रो

1432
views

काठमाडौँ, २ बैशाख । मध्यपुरथिमि नगरपालिका बोडेवासीका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर परम्परालाई निरन्तरता दिएका छन् । संस्कृति जोगाउनका निमित्त उनले जिब्रो छेडाएका हु । यसअघि ०६२ देखि ०६५ सम्ममा ४ पटक जिब्रो छेडाएर संस्कृति बचाएका बुद्धकृष्णले शनिबार जिब्रो छेडाएर संस्कृति जोगाएका हुन् । प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत मनाइने जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने व्यक्ति नहुँदा जात्रा नै संकटमा पर्ने स्थित भएपछि संस्कृति जोगाउन जिब्रो छेडाएको उनले बताए ।
आठ वर्षदेखि बोडेको जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्दै आइरहेका जुजुभाइ श्रेष्ठले यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि जात्रा नै नहुने स्थिति आइपरेको थियो । यसवर्ष घरमा श्रीमती र भाउजू बिरामी भएकाले जुजुभाइले जिब्रो नछेड्ने घोषणा गरेका थिए । २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका उनले आज जिब्रो छेडे । बोडेको जात्रामा बोडेबासीमध्ये पनि यहाँका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नु पर्ने परम्परा छ । जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन् ।
जात्राका लागि मध्यपुर थिमी नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थान लगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन् । जात्रा प्रत्येक वर्षको वैशाख २ गते बिहान हुने गर्दछ । जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइ राखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउंदै ल्याएपछि मञ्चमा राखी हजारौंको भीड सबैको अगाडि जिब्रो छेडिन्छ ।