६ महिनाकी गर्भवतीको यस्तो छ ओलम्पिकको तयारी

1375
views

बीबीसी
बैशाख ३ – टोकियोमा सन् २०२० मा आयोजना हुने ओलम्पिक खेलको सुरु हुन अब हजार दिन जति बाँकी छ र यसको तयारीका लागि यो निकै महत्वपूर्ण समय हो ।
पछिल्लो वर्षको रियो ओलम्पिक खेलमा आफ्नो सातौं पदक हासिल गर्ने अमेरिकी स्विमर डैना वोल्मर आजकाल यसै तयारीमा जुटिरहेकी छिन् ।
तयारी त उनी हरेक ओलम्पिकका लागि गर्छिन् तर यसपटक केही नयाँ छ । उनको नयाँपनमा उनको गर्भमा हुर्किरहेको बच्चा हो ।
रियो ओलम्पिकपछि आफ्नो पहिलो स्विमिङ रेसमा बिहिबार जब उनी समावेश भइन् तब उनी ६ महिनाकी गर्भवती थिइन् ।
पहिलो चुनौती थियो उनको लागि नयाँ स्विमिङ कस्ट्युम खोज्नु किनभने रियो खेलका बेला उनको साइज २६ बाट बढेर ३२ को भइसकेको छ ।
एरिजोनाको मेसामा स्विमिङ रेसमा समावेश भएकी डेनाले समूहको वेबसाइटलाई भनिन्, ‘पेट बढेकाले ठूलो साइजको कस्ट्युम लिनु थियो ।’
डेमाले यो प्रतिस्पर्धामा भाग लिनका लागि आफ्नो डाक्टरको अनुमती लिइन् र आफ्नो ट्रेनिङ प्रोग्राम अर्थात कसरतमा पनि परिवर्तन गरिन् ता कि उनी आफ्नो ताकतमा धेरै काम गर्न सकून् ।
सन् २०१२ को लण्डन ओलम्पिक खेलमा सय मिटर बटरफ्लाई स्टाइलमा स्वर्ण पदक जितेपछि डेनाले जेठो छोरा आर्लेनलाई जन्म दिएकी थिइन् र पुनः रियो ओलम्पिकका लागि क्वालिफाइ हुनका लागि फिर्ता भइन् ।
तर यसपटक उनले आफ्नो तालिम जारी राख्ने निर्णय गरिन् । जुलाई पनि उनी आफ्नो दोस्रो सन्तानलाई जन्म दिनेछिन् ।
२९ वर्षीय डेना भन्छिन्, ‘बच्चाको स्वास्थ्यको चिन्ता गरेर म सोफामा मात्र बस्न सक्दिनँ ।’
यद्यपी, डेना पहिलो महिला होइन जो गर्भवती हुँदा पनि रेसमा समावेश भएका छन् । सन् २०१४ को जूनमा अमेरिका एथलिट एलिसिया मोनटानाले अमेरिका ट्र्याक एण्ड फिल्डको ८ सय मिटर क्वार्टर फाइनलमा भाग लिएकी थिइन्, उनी त्यतिबेला ८ महिनाकी गर्भवती थिइन् ।
थुप्रै महिला खेलाडी गर्भवती हुँदा हुँदै पनि ओलम्पिकमा थुप्रै पटक भाग लिइसकेका छन् ।
बच्चालाई जन्म दिनुभन्दा तीन महिना पहिले ५० मिटर फ्रिस्टाइल रेसमा भाग लिनु डेनाका लागि एक चुनौती थियो । यस विषयमा उनी भन्छिन्, ‘मेरो जीवनमा यो ५० मिटर पहिलो पटक मलाई निकै लामो लागिरहेको थियो ।’