कसरी थेग्ने राज्यले खर्च ? अर्थमन्त्रीलाई जापान जान तीन सय अमेरिकी डलर

725
views

काठमाडौं, २०, बैशाख । सरकारले उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई जापान भ्रमणमा जान तीन सय अमेरिकी डलर खर्च दिने निर्णय गरेको छ । उप प्रधानमन्त्री महरा पाँच सदस्यीय प्रतिनिधिमण्डलका साथ बिहिबार जापान जाँदै हुनुहुन्छ । सो प्रतिनिधिमण्डलका लागि नियमानुसार दैनिक तथा भ्रमण भत्ता र उप प्रधान तथा अर्थमन्त्री महरालाई भैपरी खर्च वापत एकमुष्ट तीन सय अमेरिकी डलर नेपाल सरकारले उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ । मन्त्रिपरिषदले प्रतिनिधिमण्डलको लागि बाटो म्याद बाहेक बिहिबारदेखि बैशाख २४ गतेसम्मको चार दिनको भ्रमण अवधि स्वीकृत गरेको छ । प्रतिनिधिमण्डलसँगै जापान जान लागेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराका छोरा राहुल महराका अनुसार प्रतिनिधिमण्डल बैशाख २५ गते काठमाडौ फर्कने कार्यक्रम तय भएको छ । प्रतिनिधिमण्डलमा अर्थसचिव शान्तराज सुवेदी,अर्थमन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव बैकुण्ठ अर्याल,अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सुर्य पोखरेल र राहुल महरा रहनु भएको छ । उप प्रधान तथा अर्थमन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डल बैशाख २१ देखि २४ सम्म आयोजना हुने एशियाली विकास बैंक (एडीवी)को ५० औ बैठकमा भाग लिन जापान जान लाग्नु भएको हो । एडीवीको वोर्ड अर्फ गभर्नर्सको ५० औ बार्षिक बैठक जापानको योकोहामामा हुँदैछ । एडीवीको संस्थापक सदस्य समेत रहेको नेपालले यसअघि बैठकमा पनि निरन्तर भाग लिदै आएको छ । सो बैठकमा बैंकको बित्तिय एवं लेखापरिक्षण प्रतिवेदन,बार्षिक प्रतिवेदन,खुद आयको बाँडफाँट,बजेट र स्रोतको विवरण,बैंकको नीति नियममा पुनरावलोकन जस्ता बिषयहरुमा छलफल हुने कार्यक्रम छ । बैठकमा गभर्नरको हैसियतमा उपप्रधान तथा अर्थमन्त्री महराले नेपालका सरकारका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । सो प्रतिनिधिमण्डलले चैत १९ गते नै मन्त्रीस्तरबाट स्वीकृति पाएको थियो भने मन्त्रिपरिषदबाट चैत ३ गते स्वीकृति पाएको थियो । एवीवीले प्रतिनिधिमण्डलका लागि जनवरी ३० मा निमन्त्रणा पठाएको थियो ।