धुर्मुस–सुन्तलीकी आमा भन्छिन् ‘‘संकटकालकी माओवादी हुँ’’

2115
views

वि.स २०१७ साल फागुन २२ गते ललितपुर चापागाँउमा उनको जन्म भएको हो । जीवनको करिब ५७ बसन्त पार गरिसकेकी उनी सक्रिय र चर्चित राजनीतिज्ञ भने होईनीन् । तथापि उनको राजनीतिसँगको साईनो भने लामो रहेको छ । तर, २० बर्षपछि यो मूलुकमा हुन लागेको स्थानीय निर्वाचनले आज उनी एकाएक चर्चाको शिखरमा पुगेकी छिन् । उनी हुन कलाकारिताबाट नाम कमाएका र पछिल्लो समय समाजसेवामा लागेर चर्चित बनेका धुर्मुस–सुन्तली–सिताराम कट्टेल र कुञ्जना घिमिरेकी आमा सीता घिमिरेसँगकोकुराकानीको अंश ।


तपाईको राजनैतिक पृष्ठभुमी के हो ?
म त्यस्तो राजनितिज्ञ त होईन । तर, समाजमा केहि गर्नुपर्छ भन्ने त लागिरहन्थ्यो । समाजका सबै दीदी बहिनिहरुलाई जम्मा गरेर कहिले सहकारी खोल्ने त कहिले महिलाका हकहितका बारेमा समाजमा अभियान चलाउने काम भने गर्दै आईरहेको थिए ।
तपाई माओवादी नै किन बन्नु भयो त ?
मैले ०५६ र ०५७ सालसम्म त एमालेलाई भोट हालेकी थिएँ । त्यसपछि मैले एमालेभन्दा माओवादीले केही गर्छ भन्ने लागेर एमाले छाडे माओवादी भएँ । माओवादी शान्ति प्रक्रियामा आउनुभन्दा पहिले नै म माओवादी भैसकेको थिए । संकटकालको बेला पनि मैले माओवादीलाई खाना खुवाउने गरेको थिए । पछि मेरो घरदेखि तलबाट बाटो खुलाउनु पर्ने थियो एमालेबाट कुनै सहयोग पाईएन तर, माओवादीको सहयोगमा बाटो खुल्यो । त्यसपछि म खुलेर निरन्तर माओवादीमा लागिरहेको छु र माओवादीलेनै देशको विकास गर्छ भन्नेमा म विश्वसत छु ।
गोदावरीबाट उपमेयरको टिकट पाउनुभयो, तपाईले टिकट पाउनुमा तपाईको छोरी–ज्वाईको लोकप्रियताले हो या तपाईको आफ्नै कारण ?
मेरो छोरी–ज्वाईको कारण पनि मैले टिकट पाउनमा सहयोग पुगेको होला । तर, उहाँहरुको लोकप्रियताको कारणले आज म सीता घिमिरेबाट धुर्मुस–सुन्तलीको आमा मात्र भएकी छु । त्यसैले, अबको निर्वाचन पछि म राजनीतिज्ञ सिता घिमिरे भएर चिनिन चाहन्छु ।
छोरी–ज्वाई तपाईको चुनावी प्रचार–प्रसारमा आउछन् कि आउदैनन् ?
अहिले त उहाँहरु जपानमा हुनुहुन्छ । मैले म चुनावमा उठ्छु तपाईहरुले सहयोग गर्नुपर्यो भनेर उहाँहरुसँग सल्लाह पनि गरेकी हुँ । तर, उहाँहरुले हामी कुनै पार्टीको झण्डामा बसेर तपाईको प्रचार प्रसारमा लाग्न सक्ने अबस्था छैन भन्ने जवाफ दिनुभयो । गाँउ घरमा धेरै जनाले ज्वाई नआएपनि छोरीलाई प्रचार प्रसारमा ल्याउनु पर्यो भनिरहेका छन्, हेरौ जापानबाट फर्केपछि उहाँहरुले के गर्नुहुन्छ । सकेसम्म म पनि उहाँहरुको व्यवसायलाई राजनीतिसँग जोडेर बिगार्ने पक्षमा छैन ।
तपाई राजनीतिमा सक्रिय हुनुहुन्छ, तपाईको श्रीमानको सहयोग कस्तो छ ?
मेरो श्रीमान एमालेको सक्रिय कार्यकर्ता हुनुहुन्छ तर, उहाँले भोट मलाई हाल्नुहुन्छ । मरो राजनीतिमा उहाँको पुरै सर्मथन समेत रहेको छ । उहाँले मेरो लागि आबश्यक सम्पूर्ण सहयोग गर्नुहुन्छ ।
तपाईले उपमेयर जित्ने अधार के के हुन् ?
बाटोघाटो, खानेपानी तथा सबैले खुसी र हाँसो पाउनुपर्छ भन्ने मेरो मान्यता हो । जनताको खुसी नै मरो खुसी हो । मैले सुख पाएपनि दुःख पाएपनि त्यो जनताको लागि हो । जनताका हरेक सुख दुःख साटासाट गर्नसक्ने क्षमता नै मेरो चुनाव जित्ने आधार हो । साथीभाईको सल्लाह लिएर जनताका पिरमर्का बुझ्ने, भ्रष्टचारको बिरोध गर्ने र गाँउसम्म नै बजटेको सही सदुपयोग गर्नुपर्छ भन्ने मैले बुलन्द आवाज उठाईरहेको छु ।
तपाई माओवादीको कुन तहमा हुनुहुन्छ ? माओवादीका नेताहरु को कोसँग भेट भएको छ ?
म माओवादीको ललितपुर जिल्ला कमिटि सदस्य छु । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, बर्षमान पुन, पम्फा भुसाल लगायतसँग व्यक्तिगत चिनजान पनि छ र भेटघाट पनि भैरहन्छ ।
छोरी ज्वाईले गरेको सामाजिक काम कस्तो लाग्छ ? तपाईले राजनीति गरेकोमा उहाँहरु खुशी हुनुहुन्छ ?
उहाँहरुले गरेको सामाजिक काम देख्ता खुशी लाग्छ, गर्व हुन्छ । तर, मैले टिकट पाईसकेपछि छोरी ज्वाईले राजनीति किन गर्नुपर्यो र ? भन्नुहुन्छ । मैले उहाँहरुलाई भने तपाईहरुले कलाकारीता मार्फत समाजसेवाबाट नाम कमाउनुभयो मैले राजनीति मार्फत समाजको सेवा गरेर नाम कमाउन चाहान्छु । त्यसकारण तपाईहरुले मलाई सहयोग गर्नुपर्यो म आफ्नै पहिचान बनाउन चाहान्छु भनेको छु । आशा छ उहाँहरुले जे जति सक्नुहुन्छ भौतिक, आर्थिक सहयोग अबश्य गर्नुहुन्छ ।
अन्त्यमा तपाईले आफ्नो क्षेत्रका मतदाता तथा शुभ चिन्तकलाई के भन्न चाहानुहुन्छ ?
मैले मेरो क्षेत्रका मतदातालाई पार्टी भन्दा पनि व्यक्ति हेरेर भोट हाल्नुहोस भन्न चाहान्छु । यदि तपाईहरुले मलाई निर्वाचन जिताउनु भयो भने म यो ठाँउका सबै समस्यासँग चिरपरिचित छु, त्यसैले सम्पूर्ण समस्यालाई समाधान गर्न सक्ने मसँग स्पष्ट दृष्टिकोण पनि छ र त्यसलाई समाधान गर्नु मेरो दायित्व हुनेछ । त्यसैले सबै मतदातासँग मेरो आग्रह छ तपाईको अमुल्य मत मलाई दिनुहोस म खेर जान दिने छैन ।