पर्वतमा देजमोका उम्मेदवारहरु स्वतन्त्र चिन्ह सहित मत माग्दै अन्तिम चरणमा, जनमत आफ्नो पक्षमा भएको उम्मेदवारहरुको दाबी

810
views

शुसिल भुजेल
पर्वत, २८, बैशाख । पर्वतमा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का उम्मेदवारहरु स्वतन्त्रको चुनाव चिन्ह सहित घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । देजमोका तर्फबाट कुश्मा नगरपालिकाको मेयर पदमा तेजेन्द्र पौडेल, पैंयू गाउँपालिकाको अध्यक्षमा भिमकुमारी शर्मा, उपाध्यक्षमा कुश्माखर भुसाल ‘आशिष’ र महाशिला गाउँपालिकाको अध्यक्षमा जित बहादुर नेपाली चुनावी मैदानमा भिड्दै प्रचारप्रसारमा जुटेको बताएका छन् । यस्तै पैंयू गाउँपालिका–६ को अध्यक्षमा तिलक प्रसाद अधिकारी, वडा नं ७ को अध्यक्षमा भोजराज पंगेनी, वडा नं ३ को अध्यक्षमा रामप्रसाद भुसाल, मोदी गाउँपालिका–५ को अध्यक्षमा अगन बहादुर विक स्वतन्त्रको चुनाव चिन्ह सहित चुनावी मैदानमा भिडेका हुन् ।
स्वतन्त्रको चुनाव चिन्ह सहित चुनावी मैदानमा भिडेका तेजेन्द्र पौडेलले बाकस चिन्ह, भिम कुमारी शर्माले ठेकी चिन्ह, कुश्माखर भुसाल ‘आषिश’ ले मोढा चिन्ह, तिलक प्रसाद अधिकारीले मुठी पारेको हातको चुनाव चिन्ह सहित चुनाव प्रचार प्रसार गर्दै मतदाता समक्ष पुगेको बताएका छन् । २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र स्वतन्त्र चुनाव चिन्ह पाएपनि आफ्नो पक्षमा जनमत भएको
दाबी गरेका छन् ।
पर्वतमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले र राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचनका लागि चुनावी तालमेल सहित साझा उम्मेदवार उठाएका छन् । नेकपा मालेले कुश्मा नगरपालिकाको उपमेयर पदमा सावित्रा विक लगायतका उम्मेदवारहरु चुनावी मैदानमा भिडेका छन् भने राष्ट्रिय जनमोर्चाको तर्फबाट फलेवास नगरपालिकाको मेयरमा भोजराज उप्रेती र महाशिला गाउँपालिकाको अध्यक्षमा होमनाथ पराजुली चुनावी मैदानमा उत्रिएका छन् ।