निर्वाचन आचारसंहिता अनुसार आज मध्यरातदेखि मौन अवधि सुरु

774
views

काठमाडौँ, २८, बैशाख । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेद्वारहरुले आज अन्तिमदिन प्रचारप्रसार गर्दैछन् । निर्वाचन आचारसंहिताका कारण बिहीबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। प्रमुख दलका शीर्ष नेतासहितका उम्मेद्वार आज अन्तिम चुनावी सभा÷सम्मेलनलाई सम्वोधन गर्दैछन्। आचारसंहिता अनुसार बिहीबार मध्यरातदेखि मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम उम्मेद्वारले गर्न पाउँदैनन् । मौन अवधिको आचारसंहिता सञ्चारमाध्यमलाई समेत लागू हुनेछ ।
निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन् । निर्वाचनको प्रचार प्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन । त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको
छ। तर विदेशमा बस्नेहरुले प्रचार प्रसार तथा आफ्ना उम्मेदवारको पक्षमा मत मागेको अवस्थामा के कारवाही गर्ने भन्नेमा मौन छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ’एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने’, उल्लेख छ । त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउनेछैनन् ।